अमेरिकामा प्रचण्डलाई ‘भूमिगतरुपमा बाहिर’ निकालेको कुरा हास्यास्पद
किशोर पन्थी
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ९ दिने अमेरिका भ्रमणले उत्पन्न तरंग अमेरिकादेखि नेपालसम्म नै कायम छ । प्रचण्डले नेपाल पुगेर केही विषयमा इमानदारीसाथ बोलेका छन्, जसका कारण थप तरंग उत्पन्न भएको छ ।
प्रचण्डले काठमाडौं पुग्नासाथ भनेका छन्– ‘मलाई विमानस्थलमा लिन राजदूतलगायत आउनुभएको रहेछ । मलाई झन्डैझन्डै भूमिगत रूपमा बाहिर निकाल्ने गरी उहाँहरूले विशेष रूपले मिलाउनुभएको रहेछ । उहाँहरूलाई केही घटना हुन्छ कि भन्ने आशंका लागेको रहेछ । उहाँले बुद्धिमत्तापूर्वक छलेर केही हुने नै भए पनि सफलतापूर्वक निकाल्ने योजना बनाउनुभएको रहेछ । उहाँले रातभर नसुतेर त्यस्तो योजना बनाउनुभएको रहेछ ।’
झट्ट सुन्दा यो भनाइ सामान्य लाग्न सक्छ । तर, यो सामान्य विषय होइन । अमेरिकामा लामो समय काम गरिसक्नुभएका राजदूतलाई शायद थाहा हुनुपर्ने हो, प्रचण्ड अमेरिकाको बोर्डरबाट लुकिछिपी अमेरिका छिर्न लागेका थिएनन् । प्रचण्ड अमेरिका आउँदै गरेको अमेरिकी सरकारलाई उनी काठमाडौंबाट हिँडेदेखि नै थाहा थियो । अझ प्रचण्डको अमेरिका आउने योजना त अमेरिकी सरकारलाई भिसा जारी गरेदेखि नै थाहा थियो । अमेरिका आउने क्रममा कुनै पनि यात्रु विमानमा चढेदेखि नै एड्भान्स पेसेन्जर इन्फर्मेसन सिस्टम (एपिआइएस) मार्फत एयरलाइन्सले सबै यात्रुको विवरण कस्टम एन्ड बोर्डर प्रोटेक्सन (सिबिपी) लाई बुझाउने गर्छ । सिबिपीले इन्टर एजेन्सी बोर्डर इन्सपेक्सन सिस्टम (आइबिआइएस) मार्फत कुन यात्रुलाई अमेरिकामा थप चेकजाँच आवश्यक छ, त्यसको निर्धारण गर्छ । एफबिआई, इन्टरपोललगायत २० संघीय एजेन्सीले प्रयोग गर्ने आइबिआइएस प्रणाली प्रयोग गरी अमेरिकी कन्सुलेटले भिसा जारी गरेको हुन्छ ।
अर्कातर्फ प्रचण्डलाई भिसा जारी गर्दा विशेष प्रकारको वेभर जारी गरिएको थियो । त्यो भिसा वेभर अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ स्टेटले कुनै व्यक्ति अमेरिकाका लागि खतरा नरहेको र अमेरिकामा यात्रा गर्न योग्य रहेको निर्धारण गरेपछि जारी गरिन्छ । अमेरिकी दूतावासले भिसा जारी गर्नुभन्दा अगाडि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ स्टेटलाई गरेको अनुरोधका आधारमा विभिन्न डाटाबेस चेक गरेर यस्तो वेभर जारी गरिन्छ । वेभरमा अमेरिका आएका प्रचण्डलाई अमेरिकी सरकारलाई नै छलेर भूमिगत शैलीमा एयरपोर्टबाट निकाल्ने कुरा गर्नु अत्यन्तै हास्यास्पदमात्र छैन, सत्तासीन दलका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्रीको अपमानसमेत भएको छ ।
प्रचण्डले काठमाडौंमा दिएको अभिव्यक्ति सुन्दा उनलाई अमेरिकाको अवस्थाबारे सर्वथा गलत ब्रिफिङ भएको स्पष्ट हुन्छ । जसका कारण प्रचण्ड र उनको परिवारलाई त्रासमा राखिएको स्पष्ट भएको छ । प्रचण्डले नेपाल पुगेर बताएजस्तो अवस्था अमेरिकामा हुँदैन । अमेरिका आउँदै गरेका कुनै व्यक्तिलाई पक्राउ गर्नुपरे अमेरिकी भूमिमा विमान अवतरण हुनासाथ एफबिआइका विशेष एजेन्टले विमानभित्रैबाट पक्राउ गर्न सक्छन् । तर, विदेशी भूमिमा भने सम्बन्धित देशको सहमतिमा मात्र पक्राउ गर्न सक्छन् । अमेरिकी भूमिमा आइसकेका पूर्वप्रधानमन्त्री स्तरका व्यक्तिलाई एफबिआइलाई बचाएर भूमिगत शैलीमा राजदूत निवास लैजाने योजना राजदूतले रातभर जागा बसेर कसरी बनाए ? आश्चर्यजनकमात्र होइन, हास्यास्पदसमेत छ ।
अमेरिका आउनुअगाडि नै वेभर जारी भइसकेका र अबुधाबीमै सिबिपीको प्रिक्लियरेन्स पार गरिसकेका प्रचण्ड अमेरिकामा पक्राउ पर्ने कुनै आधार थिएन । अमेरिकाको कुनै अदालतमा प्रचण्डविरुद्ध उजुरी थिएन भने उनीविरुद्ध वारेन्ट पनि जारी भएको थिएन । यद्यपि, त्यसबारे सजगता अपनाउने विषयलाई भने अन्यथा मान्न सकिन्न । तर, सजगता अपनाउने नाममा जुन त्रासको वातारण सृजना गरेको देखियो त्यो भने रहस्यमय छ ।
एफबिआइमा परेको भनिएको उजुरीको विषयमा समेत प्रचण्डलाई गलत ब्रिफिङ भएको उनकै भनाइबाट स्पष्ट भएको छ । एफबिआइमा गरेको उजुरीको आधिकारिकतासमेत पुष्टि भएको छैन । सामाजिक सञ्जालमा आएको एउटा पत्रका आधारमा एफबिआइमा उजुरी परेको भने हौवा फिँजाइयो । त्यसैका आधारमा कतिपय सञ्चारमाध्यमले समाचारसमेत बनाए । प्रचण्डविरुद्ध त्यस्ता उजुरीको एफबिआइमा नो इन्भेस्टिगेटिभ भ्यालु रहेको अवस्थामा त्यसबारे निकै हौवा फिँजाइयो ।
अमेरिकी भूमिमा आइसकेका पूर्वप्रधानमन्त्रीस्तरका व्यक्तिलाई भूमिगत शैलीमा आफ्नो निवास लैजाने योजना राजदूतले रातभर जागा बसेर कसरी बनाए, आश्चर्यजनक मात्र होइन, हास्यास्पदसमेत छ
अमेरिकामा आपराधिक गतिविधि गरेको वा कुनै आतंकवादी गतिविधिको शंका लागेको खण्डमा एफबिआइमा दिन सकिने टिप्सलाई आधार मानेर जुन हल्ला मच्चाइयो, त्यो पनि आश्चर्यजनक छ । पहिल्यै एफबिआई क्लियरेन्स पार गरिसकेका प्रचण्डले अमेरिकामा न कुनै आपराधिक गतिविधि गरेका थिए न कुनै आतंकवादी क्रियाकलाप । त्यसैले, त्यस्ता सूचनालाई एफबिआईले हावादारी सूचनाका रूपमा लिनुका साथै गलत नियतवश कसैले कसैविरुद्ध त्यस्ता उजुरी दिएमा युएस कोड सेक्सन १००१ को टाइटल १८ अनुसार उजुरी गर्नेलाई जेल, जरिवाना वा दुवै सजाय हुन सक्छ । कसैले पटकपटक एउटै प्रकारका त्यस्ता हावादारी सूचना दिएमा भविष्यमा सम्बन्धित व्यक्तिले दिने कुनै सुचना नै एफबिआइले स्वीकार गर्दैन ।
अर्कातर्फ प्रचण्डविरुद्ध मेरिल्यान्डको एफबिआइमा उजुरी परेको र त्यसबारे भ्रम चिर्न मेरिल्यान्डको संसद्मा लगिएको भनेर प्रचण्डलाई भुलभुलैयामा पार्न खोजिएको देखिन्छ । एफबिआई अमेरिकाको संघीय जाँच ब्यूरो हो, जसका अमेरिकाभर ५६ वटा फिल्ड अफिस र ४ सय भन्दा धेरै आवासीय एजेन्सी रहेका छन् । त्यसबाहेक संसारभरका दूतावास र कन्सुलेटमा ६० वटा कार्यालय र १५ सहायक कार्यालय रहेका छन् । अमेरिकाभर फैलिएको आफ्नै संयन्त्र भएको एफबिआईको मेरिल्यान्ड राज्य संसद्सँग कुनै सरोकार हुँदैन । एफबिआईको जुन फिल्ड अफिसमा उजुरी परे पनि तत्कालै यस्तो सर्कुलर अमेरिकाभर नै हुन सम्भव छ । र एफबिआई कुनै राज्य विशेषको संयन्त्र पनि होइन ।
त्यस्तै, अमेरिकामा रहेका नेपालीबारे पनि प्रचण्डलाई गलत बिफ्रिङ गरिएको उनकै अभिव्यक्तिले प्रस्ट पारेको छ । दुईचार व्यक्तिबाहेक आमनेपालीमा प्रचण्डप्रति सहानुभूति र सद्भाव नै रहेको थियो । कांग्रेसनिकट नेपाली जनसम्पर्क समितिका सभापतिलगायतले पनि भ्रमणलाई पूर्वसरकारप्रमुखको निजी भ्रमणका रूपमा बुझेका थिए । सत्तासीन दलका अध्यक्ष आएको बखत मौका मिलेमा सरकारका केही गतिविधिमा असन्तुष्टि जनाउँदै ज्ञापनपत्रसम्म बुझाउने उनीहरुको योजना थियो । सार्वजनिक कुनै कार्यक्रम भएको भए विगतमा बाबुराम भट्टराई, सुशील कोइराला वा अन्य नेतालाई जस्तो कोही कोहीले कालो झन्डासम्म देखाउँथे होला ।
त्यसबाहेक नेपाली समुदायका तर्फबाट प्रचण्डलाई कुनै खतरा थिएन । तर, प्रचण्डको अमेरिका भ्रमणमा जुन भूमिगत शैली अपनाइयो, त्यसले प्रचण्डको गरिमामा आँच ल्याएको छ । सत्तासीन बहुमतप्राप्त दलका राजनीतिक नेतालाई अन्डरवल्र्डको कुनै अपराधीलाई गैरकानुनी रूपमा बोर्डरबाट छिराएर अमेरिका घुमाएजस्तो शैली किन अपनाइयो ? यसबारे अमेरिकामा रहेको नेपाली दूतावासको कूटनीतिक भूमिकाबारे बहस हुन जरुरी छ ।