ओली, प्रचण्ड, बैद्य, बिप्लव सबै कम्युनिष्ट आन्दोलनका ‘बाइप्रोडक्ट’ (भिडियोसहित)
निरंकुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । यद्यपी एकथरी कम्युनिष्ट नेताहरुले यो मितिलाई वास्तविक कम्युनिष्ट पार्टीको जन्म दिन स्वीकार गर्दैनन् ।
अप्रिल २२ कि सेप्टेम्बर १५ ?
पुराना बामपन्थी नेता एवम नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीका अनुसार १९४९ अप्रिल २२ तारिख भनेको पार्टी खोल्ने अठोटका साथ पहिलो पर्चा बनाइएको मिति मात्र हो । खास नेकपाको जन्म मिति भनेको १९४९ सेप्टेम्बर १५ तारिख हो । सो दिन नेकपा नामको पार्टी गठन गरिएको थियो ।
पार्टी खोलेको घोषणासभा सेप्टेम्बर १५ तारिखका दिन भएकाले सोही मितिलाई नेकपाको स्थापना दिवसको रुपमा मनाउनुपर्ने जोशीको तर्क छ । अप्रिल २२ तारिखलाई तत्कालिन नेकपा एमालेले स्थापना दिवसकारुपमा मनाउन थालेको र हाल माओवादी केन्द्र पनि मिसिएर बनेको नेकपाले यही दिनलाई स्थापना दिवसकारुपमा मनाइरहेको छ । जोशीका अनुसार यो सरासर गलत हो ।
राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल हुनुहुन्थ्यो । अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो ।
स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस् चाहे निरङ्कुश राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक र बलिदानी सङ्घर्ष गर्दै आएको छ। नेपाल कम्युनिष्ट पार्टीको सहभागिता र नेतृत्वबिना नेपालको लोकतान्त्रिक आन्दोलन यस उचाइसम्म आउनु सम्भव थिएन। २०४६ साल र २०६२÷६३को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो ।
कम्युनिष्टको नाममा विकृति
अहिले नेपालमा कम्युनिष्टको नाममा स्थापित सत्तारुढ दल नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी माओवादी, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा सबै विकृती हुन् ।
सत्तारुढ दल नेकपा र त्यसका नेताहरु कम्युनिष्ट चरित्र अनुसार नभइ कम्युनिष्ट सिद्धान्त, दर्शन र भावना बिपरित चलिरहेका छन् । उनीहरुमा सम्पत्ती थुपार्ने मोह जागेको छ । भौतिक सुविधाप्रति आकर्षण बढेको छ । जनताका समस्याप्रति कुनै चासो छैन ।
मोहन बैद्य जडसुत्रवादी हुन् । यस्तो सोचाइ र दिशाले निकास दिंदैन । चन्द राजनीतिकरुपमा स्पष्ट छैनन् । हिंसा अंगाल्नु हुँदैन । बिप्लवले आफूले चाहेको के हो स्पष्ट भन्नुपर्छ ? बन्दुक पड्काएर मात्र हुँदैन ।
मध्यमवर्गीय सोच नै बाधक
नेपालको राजनीतिमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल र मनमोहन अधिकारीमा उच्चबर्गिय चिन्तन र सोच थियो । त्यो भनेको स्वार्थरहित समाजको कल्पना र त्यही अनुसारको व्यवहार हो ।
मध्यमवर्गीय चिन्तनले अनावश्यक ‘इगो’ खोजेर बस्छ । अहिले बिद्यमान कम्युनिष्ट पार्टी लगायत अन्य पार्टीका नेताहरुमा यही ‘इगो ’ छ । यो ‘इगो’ ले सहअस्तित्वमा काम गर्न दिंदैन । अरुको अस्तित्व स्वीकार गर्न मान्दैन । यस्तै मान्छेहरुको भीडले राजनीति राम्रो हुन सकेन, यसको दुष्परिणाम मुलुक र जनताले भोगिरहेका छन् ।
भविष्य ठीक छैन
सत्ताको लागि नभई मुलुकमा कम्युनिष्ट चरित्र निर्माण, बैचारिक अभियान र सैद्धान्तिक बाटो नभत्कियोस भनेर पुनः सक्रिय राजनीतिमा फर्किनु भएका जोशी नेपालमा कम्युनिष्ट आन्दोलन भविष्य संकटग्रस्त रहेको बताउनु हुन्छ । अहिले हेर्दा सबैभन्दा ठूलो दल, दुई तिहाईको सरकार देखिएपनि यो आत्मा बिनाको शरीर जस्तो भएको छ । ‘जनतालाई केन्द्रमा राखेर अघि नबढ्ने हो भने दुःखकासाथ भन्नुपर्छ यीनको पतन निश्चित छ ।’ जोशीको निष्कर्ष छ ।
चन्द्रदेव जोशी