काठमाडौंका ठूला सपिङ मल चल्नै छाडे
-प्रयास श्रेष्ठ
काठमाडौं । करोडौं रुपैयाँको लागतमा निर्माण भएका काठमाडौंका केही ठूला व्यापारिक भवनहरु कमजोर व्यवस्थापनका कारण रित्ता हुँदै गएका छन् । पसल बजार रहेकै मलहरुमा पनि चहलपहल घट्दै गएको छ ।
न्युरोड, असन, सुन्धारालगायत स्थानका कम्प्लेक्स, मलमा मानिसहरुको चहलपहल पातलो छ । कुनै बेला राम्रो व्यापार गर्ने व्यापारिक मलहरुसमेत पछिल्लो समय मन्दी छाएको छ । ८–९ वर्षदेखि सुन्धारास्थित काठमाडौं मलमा कपडाको व्यापार गर्दै आएका निरज श्रेष्ठ भन्छन्, ‘महँगो भाडा तिरेर पसल चलाउनु परेको छ । पसलमा ग्राहक आउँदा नै अनौठो लाग्न थालेको छ । व्यापार साँच्चै गाह्रो भयो ।’ व्यापारमा मन्दी र भाडा चर्को भएका कारण समस्या आएको उनको ठहर छ ।
काठमाडौं मलका व्यापारीले प्रति सटरको मूल्य औसतमा ४० हजार तिर्दै आएको दावी गर्छन् । भाडा नै ४० हजार भएपछि व्यापार पनि सोहीबमोजिम हुनुपर्छ । मासिकभाडा, बिजुली पानीआदिमा हुने खर्चको तुलनामा व्यापार कम हुँदा जीवीको चलाउन नै गाह्रो परेको व्यापारीहरु बताउँछन् ।
मूलतः व्यापार हुनु पर्ने काठमाडौंका मलहरुमा हिजोआज सेल्फी खिच्ने, युवायुवतीको घुमफिर गर्ने, समय कटाउने थलोको रुपमा विकसित हुँदै गएका छन् ।
चाबहिलस्थित केएल टावरको हालत पनि मिल्दोजुल्दो छ । टावरमा व्यापारिक क्रियाकलाप भन्दा घुम्न आउनेहरुको लर्को बढी छ । सिनेमा हलका दर्शकले टावरलाई केही भरथेग गरेको छ । काठमाडौं मलको तुलनामा केएल टावर व्यवस्थित सफा र उज्यालो छ । कुनै समय राम्रै व्यापार गर्नेमा गनिनले सिटिसी मल, सिभिल मल, चाइना टाउन, वर्ल्ड ट्रेड सेन्टरलगायतका व्यापारिक केन्द्रहरु आजभोलि गुमनाम जस्तै छन् । यी मलहरुमा किनमेल गर्न जानेहरु कम छन् ।
सिटिसी मलका व्यापारी राकेश प्रजापतीको अनुभवमा ग्राहकहरु सस्तो बजार र अनलाइन बजारमा आकर्षित भएका छन् । उनी भन्छन्, ‘जसले बढी विज्ञापन गर्न सक्छ, उसकै पसलमा ग्राहक पुग्छन् । अनलाईन माध्यम साना व्यापारीका लागि पनि विज्ञापन गर्ने थलोका रुपमा परिणत भएको छ ।’
हुन पनि हिजोआज मानिसहरु मोबाइल, कम्प्युटरमा बसेर वस्तु छनौट गर्छन्, अनलाईनमै अर्डर गर्छन् । खोजेको वस्तु घरमै आइपुग्छ । कतिपयले आफ्नो कार्यस्थल, कार्यालयमै अनलाइनबाट मालसामान मगाउँछन् । बजार गइरहने झन्झटबाट उनीहरु मुक्त हुन खोज्छन् ।
किनमेलका लागि केही ग्राहकहरु विदेशी बजारसम्म पहुँच राख्छन् । केहीले अनलाईनमार्फत विदेशमा पनि किनमेल गर्दै आएका छन् । जहाँ सन्तुष्टि मिल्छ, ग्राहक त्यति आकर्षित हुने गरेका छन् ।
सपिङ मलहरुमा बार्गेनिङ नचल्ने पसलहरु बढी हुनु, चर्को भाडाको प्रभाव वस्तुको मूल्यमा पर्नु जस्ता कारणले ग्राहकहरुको रोजाईमा मलका पसल पर्न छाडेका छन् । धेरैजसो वस्तु मल र बाहिरका पसलमा समान रुपले पाइन्छ । जसका कारण मल नै धाइरहनु पर्ने आवश्यकता हुँदैन । कतिपयलाई मलका सामान महँगा हुन्छन् भन्ने मनोविज्ञानले समाएको पनि हुन्छ ।
सिटिसी मल, सिभिल मल, चाइना टाउन, वर्ल्ड ट्रेड सेन्टर काठमाडाै मल केएल टावर