किसुनजीलाई हराउने गिरिजाबाबुको भूमिकालाई साथ दिनु मेरो गल्ती(भिडियोसहित)
काठमाडौं । नेपालआजको नियमित कार्यक्रम ‘फरक सम्वाद’मा यसपटक नेपाली कांग्रेसका लोकप्रिय नेता शंकर भण्डारी उपस्थित भएका छन् । कार्यक्रम प्रस्तोता श्रीकृष्ण सिंखडासँगको कुराकानीमा पूर्वमन्त्रीसमेत रहेका भण्डारीले आफ्ना बारे त्यस्ता धेरै विषय खुलासा गरेका छन् । आफ्नो मनमा कहिले पनि अरुको अहित र आफ्नो हित होस् भन्ने कामना नरहने उनले बताए । भने, ‘सबै असल मान्छे बनून् भन्ने सदीक्षा छ । यदि सबैभन्दा कमसल मान्छे म हुनुपर्छ भने पनि ठीक छ तर बाँकी सबै असल र यो देशलाई मैले भन्दा बढी माया गर्ने भइदिऊन् भन्ने लाग्छ ।’
आम मानिस आफूलाई नै सबैभन्दा असल र बुद्धिमान ठान्छन् । तर शंकरमा त्यस्तो दम्भ छैन । उनी आफूमा भएको मानवीय कमजोरी स्वीकार गर्छन् । ‘ममा कमजोरी छन् । विगतमा गल्ती पनि गरेँ । गल्ती सच्याउने प्रयत्न मानिसले गर्नुपर्छ, त्यो मैले पनि गरेँ । गल्ती गर्ने र सिक्ने चलिरहन्छ ’ उनले भने ।
राजनीतिमा सफलता पाएका शंकर स्कुल कलेजमा भने राम्रो प्रतिशत ल्याएर पास हुने विद्यार्थीमा पर्दैन थिए । चार वर्षको उमेरसम्म उनको बोली नफुटेपछि आमा चिन्तित थिइन् । ढिलो बोली नफुटे पनि उनी चलाख थिए । पढाईमा भन्दा राजनीति र समाजमा बढी ध्यान दिने शंकरले अनौपचारिक ढंगबाट धेरै विषयमा अध्ययन गरे ।
स्कुल पढ्दै उनको नाममा अर्को एक साथीले परीक्षा दिएको थियो । त्यो घटनाले उनको मन अहिले पनि विचलित छ । त्यो गलत कार्य रोक्ने बुद्धि त्यो बेला नपलाएका कारण उनी अहिले पनि पश्चताप गर्छन् । उनको जीवनको अर्को भूल पनि छ । कृष्णप्रसाद भट्टराईलाई निर्वाचनमा हराउन गिरिजाप्रसाद कोइरालाले भूमिका खेले । त्यसमा ‘शंकर भण्डारीले पनि सघायो’ भन्ने चर्चा भयो । खासमा त्यो घटनामा शंकरले गिरिजाप्रसाद कोइरालाको भूमिकालाई सघाएनन्, प्रतिवाद पनि गरेनन् । यो बेला ‘प्रतिवाद किन गरिनँ ?’ भन्ने प्रश्नले उनलाई पिरोल्छ ।
देशको वर्तमान अवस्थाले पनि शंकरलाई छुन्छ । उनको बुझाइमा यो देशमा गरिबले शान्तिपूर्वक बाँच्न पनि नपाएको स्थिति छ । गाँसबाँसको प्रबन्ध आफैं गर्न सक्षम छन् नेपाली जनता । तर शान्तिसँग एक गाँस खान पाइयोस् भन्ने जनताको इच्छा पूरा हुन सकेको छैन ।
वर्तमान सरकारसँग दुई तिहाइ सांसदको समर्थन छ । तर यति बलियो सरकारको काम र हिम्मत भने ‘पानीआन्द्रे’ जस्तो देख्छन् शंकर । बलियो सरकार सपनामा मस्त छ । पिउने पानी दिन नसक्ने सरकारले पानीजहाजका कुरा गरेको उनलाई पत्यार लाग्दैन ।