नेपालमा सर्जिकल स्ट्राइक हुन सक्छ (भिडियोसहित)
काठमाडौं । नेपालआजका नियमित भिडियो स्तम्भकार अरुणकुमार सुवेदीले यसपटक श्रीलंकाले भोगेको आतंकवादी हमला, भारतको पुलवामामा भएको हमला र अमेरिकाले भारतलाई दिँदै आएको व्यापार छुटमा गरेको कटौती सम्बन्धमा चर्चा गरेका छन् ।
श्रीलंका केही वर्षयता शान्त थियो । हालै भएको आत्मघाती श्रृंखलाबद्ध आक्रमणपछि दक्षिण एसियाको पुरानो रोगले निरन्तरता पाइरहेको छ । दक्षिण एसियामा इस्लामिक आतकवाद र अतिवादी कम्युनिष्टको आतंकवादबाट पीडित छ ।
श्रीलंकाले जस्तै नेपालले पनि आतंकवादको चपेटा व्यहोर्नुपरेको थियो । तर त्यो अवतरण भयो ।
सुवेदीले नेपालमा पनि श्रीलंकामा जस्तै आतंकवादी हमलाको सम्भावना औंल्याएका छन् । नेपालका युवाहरु नकारात्मकतालाई सिद्धान्त बनाएर उत्तेजनामा आएर नकाम गर्नेहरु कुनै पनि गलत क्रियाकलाप गर्ने समूहबाट परिचालित हुन सक्ने सम्भावना उनी देख्छन् ।
नेपालमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई भारतलाई सत्रू भनेर पढाए । भारतलाई ध्वस्त नपारी नेपालको उन्मुक्ति हुँदैन भन्ने खालका कुरा भरेर युवा हुर्काइन्छ भने त्यसको नतिजा खराब हुन सक्छ । नेपालमा घृणाकै आधारमा संगठन निर्माण गर्दा त्यसले नतिजा नकारात्मक दिने सुवेदी बताउँछन् ।
यदि त्यस्तो अवस्था आयो, हामीले छिमेककै लागि हानिकारक हुन थाल्यौं भने पाकिस्तानमा जस्तै भारतले सर्जिकल स्ट्रयाइक गर्न सक्छ ।
तराईका मदरसामा साउदी अबर र कतारबाट रकम आएको सुवेदीको दावी छ । इस्लामको उद्देश्य जनसांख्यिक आक्रमण रहेको उनले उल्लेख गरे । परिवार नियोजन नगर्ने, धेरैभन्दा धेरै सन्तान जन्माउने र आफ्नो संख्या वृद्धि गर्ने रणनीति नै रहेको उनले बताए ।
अमेरिकाले चुनावको बीचमा भारतविरुद्ध अमेरिकाले नाकाबन्दी लगाएको छ । अमेरिकाको चाहना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नमानेपछि यतिबेला अमेरिकाले यस्तो कदम चालेको सुवेदी दावी गर्छन् ।