कभर स्टोरी मनोरञ्जन

कलाकारको कसीमा लोकतन्त्र : व्यंग्य गर्दा जागिर गयो 

कलाकारको कसीमा लोकतन्त्र : व्यंग्य गर्दा जागिर गयो 

लोकतन्त्र ल्याउन सवैको योगदान छ । तर लोकतन्त्रले सवैको घरको चुलो बाल्न नसकेको आरोप खेप्नुपरेको छ । लोकतन्त्र भनेको समभाव हो । यद्यपि लोकतन्त्रपछि धनी झन् धनी, गरिब झन् गरिब हुँदै गएको आरोप खेप्नु परेको छ । १३ औं लोकतन्त्र दिवस मनाइरहँदा हाँस्य कलाकार नेतामाथि कटाक्ष गर्न चुकेका छैनन् । नेतामाथि व्यंग्य विक्नु भनेको लोकतन्त्र आलोचनामुक्त नहुनु हो । हास्य विधाले लोकतन्त्रलाई कसरी लिएको छ ? के मुठीभरका लागि मात्रै लोकतन्त्र आएको हो त ? युक्रेनमा जस्तै हाँस्य कलाकार राष्ट्रपति हुने सम्भावना कति छ ? यसबारे कलाकारहरुको भनाई उनीहरुकै शब्दमा । 

व्यवस्था आफैंमा खराव हुँदैन
जीतु नेपाल

लोकतन्त्र भनेको देश र जनताको लागि राम्रो बाटो हो । यो बाटोमा यदि अनुशासित भएर गाडी हाँक्ने हो भने राम्रो हुन्छ । लापर्वाही भएमा दुर्घटना निम्तिन्छ । पछिल्लो समय लोकतन्त्रमा जनताको संविधान बन्नु देश संघीयतामा जानु सकारात्मक उपलब्धी हो । तर यो सँगै भ्रष्टाचार अलि बढी मौलायो । जनतामा अविश्वास छायो । यी चाहीँ यसका नकारात्मक पक्ष हुन् । कुनै पनि व्यवस्था आफैंमा नराम्रो भन्ने हुँदैन । यसलाई सञ्चालन गर्नेहरु राम्रो हुनुपर्छ । उनीहरुको नियत सफा हुनुपर्छ ।  लोकतन्त्र नै नभएका कतिपय देश आफैंमा विकसित छन् । त्यसैले यसको पहिलो सर्त नेताहरु इमान्दार हुनुपर्छ । अहिलेको समय भने कलाकारको लागि साँच्चै नै स्वर्णीम युग हो । हामीले निर्धक्क आफ्नो काम गर्न पाएका छौं । अहिले त नेता भन्दा बढी हाँस्य कलाकार चर्चित छन् । राष्ट्रपति भन्दा कम छैनन् उनीहरु । जनताले चाहे भने कुनै दिन हाम्रो नेपालमा युक्रेनमा जस्तै हाँस्य कलाकार राष्ट्रपति हुन सक्छन् । 

लोकतन्त्र ल्याउन कलाकार निर्णायक
किरण केसी 

लोकतन्त्र ल्याउन हाँस्य कलाकारहरुको प्रमुख भूमिका छ । कसरी भने, १२ वर्षसम्म लगातार जिरे खुर्सानी, तीतो सत्य, हर्के हवल्दार जस्ता टेलिसिरियल, महजोडी र धेरैले निरन्तर देशमा भएका कुसंस्कृतिलाई पर्दामा उतार्ने काम गरे । निरन्तर यसको विरोध गरे । आन्दोलन सडकमा मात्र होइन, मुख्य रुपमा टेलिभिजनमा हुन्छ । त्यसकारण देशमा लोकतन्त्र ल्याउनमा हास्यकलाकारको प्रमुख भूमिका छ । जहाँसम्म युक्रेनमा हाँस्य कलाकार राष्ट्रपति भएको कुरा छ, यो हाम्रो लागि निकै गर्वको कुरा हो । उहाँको सफल कार्यकालको लागि शुभकामना छ । तर नेपालमा जसले ने जानेको छ त्यही गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ । 

लोकहित नै लोकतन्त्रको ताज
दीपाश्री निरौला

जुनै तन्त्र आएपनि जनतालाई स्वतन्त्र भएर काम गर्न सक्ने वातावरण दिनुपर्छ । जहाँसम्म मलाई लाग्छ लोकको हितमा काम भइरहेको जस्तो लाग्छ । अहिले नागरिक आफैं पनि सचेत छन् । हाँस्यव्यंग्यलाई पूर्ण रुपमा छुट भनेको गाईजात्रामा मात्रै हो । अरु बेलामा त हामी पनि यसबारे सचेत नै छौं । तर पनि खुल्ला रुपमा आफ्नो काम गर्न पाएको महशूस हुन्छ । युक्रेनमा हाँस्य कलाकार राष्ट्रपति भएको कुराले निकै खुशी लाग्छ । नेपालमा पनि यदि यो सम्भव हुने हो भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मध्येमा राष्ट्रपति हुनुपर्छ । यो सम्भावना नेपालमा पनि युक्रेन जगाइदियो । 

लोकतन्त्र हैन, नेतातन्त्र
सन्तोष पन्त 

यो त लोकतन्त्र होइन नेतातन्त्र हो । यसको उपलब्धी जनताले बोल्न बाहेक अरु केही पाएनन् । लोकतन्त्रको नाममा जनताले महँगी र हाहाकार पाए । मेलम्चीको पानीको अवस्था त्यस्तै भइहाल्यो । अहिले फेरि त्यसमा नयाँ काण्ड थपिएको छ । नेतातन्त्र सँगै लोकतन्त्र कमिसनतन्त्र पनि भयो । पहिला पहिला हामी हाँस्य कलाकारले गाईजात्राको अवसर पारेर व्यंग्य हान्थ्यौं । तर अहिले त सिधै गाली गर्नुपर्ने स्थिति आएको छ । पहिला कलात्मक रुपमा व्यंग्य हान्दा त्यसमा मिठास पनि हुन्थ्यो तर अहिले सिधै गाली गर्ने प्रवृत्तिले हाँस्यव्यंग्यमा मिठास नै छैन । अरु देशमा बल्ल हाँस्य कलाकार राष्ट्रपति भए हाम्रो देशमा पनि त प्रधानमन्त्री हाँस्य कलाकार छन् । नेपालमा पनि यो विधाका मानिस राष्ट्रपति हुने दिन आउँछ । 

पहिलाका प्रधानमन्त्रीले रुवाए, अहिलेका हँसाए

दीपकराज गिरी

हामी हाँस्य कलाकारले कहिल्यै पनि कुनै सरकारको भक्ति गान गाउनु हुँदैन । सरकारले गरेको नराम्रो काम नराम्रो हो भनेर औंल्याउने हाम्रो काम हो । बेलाबेलामा हुने गडबडीलाई पर्दामा देखाउने र खबरदारी गर्ने हो । ०४६ साल पनि कागजमा मात्र लोकतन्त्र आयो व्यवहारमा आएन भनेर व्यंग्य कस्दा मेरो जागिर नै खुस्किएको थियो । त्यत्ति धेरै निरंकुशता थियो । पछिल्लो पटक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतमा पनि यस्तै देखिएको थियो । तर नेपाली जनता अहिले सचेत भइसकेका छन् । सबैले आवाज उठाएका कारण यसले त्यत्ति धेरै नराम्रो रुप लिन सकेन । अहिले राजनीति सँगै मानवीय विकास पनि भएको छ । विश्वभर नै हाँस्यकलाकारलाई माया गर्छन् । युक्रेनमा हाँस्यकलाकारले हसाउँछन् भेनेरै राष्ट्रपति चुनेका हुन् । हाम्रो पनि नेपालमा पहिलाका प्रधानमन्त्रीले रुवाउनु रुवाए, अहिले त कमसेकम हँसाएका त छन् ।

बाँच्नका लागि लुच्चो र छुच्चो हुनुपर्ने बाध्यता
सुबोध गौतम

हालै युक्रेनमा  हाँस्य कलाकार राष्ट्रपति भए । यो एकदमै अनौठो विषय हो । नेपालमा पनि यसको सम्भावना छैन भन्न मिल्दैन । देशमा लोकतन्त्रको व्यवस्था आएपनि जनताको अवस्था भने सुध्रिएको छैन । त्यसकारण लोकतन्त्र सुदृढ हुनुपर्छ । भैरव अर्यालको शब्दमा भन्नुपर्ने हो भने नेपाली समाजमा सुखपूर्र्वक बाँच्नका लागि हामी लुच्चो र छुच्चो हुनुपर्छ । लोकतन्त्रको अवस्था र यसमा हुने व्यंग्य काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेजस्तै भएको छ । तैपनि हामी आफ्नो तर्फबाट समाजका नराम्रा प्रवृत्तिको बारेमा भने बोल्ने क्रम जारी नै राख्छौं । 
 

कलाकार लोकतन्त्र, व्यंग्य

विशेष