देश

ठेकेदार भागेेपछी तनहुँ जलविद्युत् आयोजनाको बाँध बनाउन पुनः बोलपत्र आव्हान

ठेकेदार भागेेपछी तनहुँ जलविद्युत् आयोजनाको बाँध बनाउन पुनः बोलपत्र आव्हान

काठमाडौं, वैशाख १२ । इटालीको ठेकेदार कम्पनी सीएमसीले काम नै सुरु नगरी अलपत्र पारे भागेपछी तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया सुरु भएको छ ।

 

कुल १४० मेगावाट क्षमताको सो आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि बिहीबार पुनः विश्वव्यापी बोलपत्र आह्वान गरिएको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ । इटालियन कम्पनी सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि कम्पनीले पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई सहभागिताका लागि आग्रह गरेको हो ।

 

बोलपत्र पेस गर्ने अन्तिम दिन आगामी जेठ २६ गतेका लागि तोकिएको छ । छनोट हुने निर्माण व्यवसायीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई सुरुङलगायतका संरचना निर्माण गर्नुपर्ने कार्यभार रहेको छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृनिकाय एसियाली विकास बैंक र युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण परिचालन हुनेगरी व्यवस्था मिलाइएको छ ।

 

बोलपत्र प्रक्रियामा सहभागी हुन चाहने कम्पनीले एसियाली विकास बैंकको खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्नुपर्नेछ । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सन्चालक प्रदीपकुमार थिकेकाअनुसार दातृनिकायले तयार पारेको निर्देशिकालाई पूर्णरूपमा परिपालना गरी प्राप्त हुने प्रस्तावमाथि अन्तिम निर्णय गरिन्छ ।

 

‘पहिलो चरणमा प्राविधिक प्रस्ताव मूल्यांकन गरी सारभूतरूपमा प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिनेछ’–प्रबन्ध सन्चालक थिकेले भने । आगामी कात्तिकको दोस्रो साताभित्र ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो सातादेखि आयोजना स्थलमा निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्यका साथ नयाँ प्रक्रिया सुरु गरिएको छ । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र सम्पन्न गर्ने संशोधित लक्ष्य तय गरिएको उनको भनाइ छ ।

 

तनहुँ हाइड्रोपावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश नमानेपछि इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का सम्झौता रद्द गरिएको थियो । यस्तै, सीएमसीले अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीयरुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेकोलगायतका कारणले समस्यामा परेपछि ठेक्का सम्झौता तोडिएको थियो ।

 

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सन्चालनलगायतका दोस्रो प्याकेजका काम भने चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनास्थलमा काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले हाल आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको छ ।

 

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत् दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भइ प्रसारणलाइनको थप सर्वेक्षणको काम गरिरहेको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ ।

 

त्यसका लागि सम्बन्धित दातृनिकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण तथा प्राधिकरण र तनहुँ हाइड्रोबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । सीएमसीसँगको ठेक्का तोडिएपछि आयोजना सम्पन्न हुने मितिसमेत एक वर्ष पर धकेलिएको छ । सुरुमा आयोजना वि.सं. २०८० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । अर्धजलाशय प्रकृतिको सो आयोजनालाई आकर्षक आयोजनाकारुपमा लिइएको छ ।

 

ठूला करदाता कार्यालयले सीएमसीले कर नतिरेको भन्दै १५ दिनभित्र ठूला करदाता कार्यालयमा सम्पर्क राख्न यसअघि नै आग्रह गरेको छ ।

तनहुँ जलविद्युत् आयोजना

विशेष