कभर स्टोरी

खुलामञ्च कब्जा गर्ने र गर्न दिनेबीचको दोस्ती 

खुलामञ्च कब्जा गर्ने र गर्न दिनेबीचको दोस्ती 

काठमाडौं । काठमाडौं महानगरपालिकामा भर्खरै निर्वाचित भएका थिए विद्यासुन्दर शाक्य । त्यो बेला पुरानो बसपार्कमा ‘काठमाडौं टावर’ निर्माण गर्ने ठेक्का पाएका थिए ‘जलेश्वर–स्वच्छन्द बिकोई कम्पनी’का मनोज भेटवालले । भेटवालले टावरको कामलाई तीव्रता दिन नसकेको भन्ने कारण देखाउँदै ‘काठमाडौं टावर’को काम खोस्न हरि कुँवरको संयोजकत्वमा एक अध्ययन कार्यदल बनाइयो ।

 

खासमा त्यो भेटवाललाई तह लगाउन, आफ्नो हित सुनिश्चित गर्न मेयर शाक्यले ‘बार्गेनिङ टुल’ बनाएका थिए । जसरी केपी ओलीले वाइडबडी प्रकरणमा सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदन छल्न अर्को ‘फेक छानविन समिति’ बनाए ।  

 

मेयर शाक्यको कार्यदलले केही पनि गरेन । कार्यदल जे नियतका साथ गठन गरिएको थियो, त्यसले काम गर्‍यो । मनोज भेटवाल र नयाँ मेयरबीच ‘आन्तरिक समझदारी’ भयो । स्थानीय तहमा जनप्रतिनिधि नहुँदा गठन भएको महानगरपालिकाको सर्वदलीय संयन्त्रमा १४ वर्ष बसेर काम गरेका थिए मेयर शाक्यले । १४ वर्षको अनुभवले उनलाई कुन प्वालमा माछा छ, कुनमा भ्यागुता सबै जानकारी रहेको दावी गरिन्छ । 

 

पुरानो बसपार्कमा ‘काठमाडौं टावर’ बनाउन बसपार्क खुलामञ्च सारियो । खुलामञ्चमा मनोज भेटवालले ४० वटा सटर नै बनाइदिए । त्यसबाट उनी पैसा कमाउँछन् । टावरका सम्बन्धमा कार्यदल बनाएपछि मेयर शाक्य र भेटवालबीच दोस्ती कायम भयो । त्यसपछि खुलामञ्च कब्जा गर्दा पनि मेयर शाक्य मौन छन् । महानगरपालिकाको नाक जोगाइदिन उपमेयर हरिप्रभा खड्गी यो प्रकरणविरुद्ध उभिएकी छिन् । 

मेयर शाक्यले रानीपोखरीमा अढाई करोड डुबाउँदा, हरिहर भवन मास्न खोज्दा, हनुमान ढोका संरक्षित क्षेत्रका अतिक्रमणकारीलाई जोगाउन खोज्दा सबैतिर विपक्षी भएर खड्गी प्रस्तुत भइरहेकी छिन् । 

 

मनोज भेटवालको विगतबारे धेरै विषय सार्वजनिक भइसकेको छ । एपेक्स बैंकको दुई अर्ब घोटाला गरेको अभियोगमा सिआइबिद्वारा पक्राउ परेका व्यक्ति हुन् भेटवाल । आफ्नो फाइदाका लागि जो कोहीलाई पनि उपयोग गर्न सिपालु भेटवाल ऋण नतिर्ने कालोसूचीका पनि हुन् । 

प्रभू बैंकसँग लिएको ऋण नतिर्दा धितो लिलामीका पछिल्लो पटक ७५ साउन ३० मा नागरिक दैनिकमा ३५ दिने सूचना जारी भएको थियो । यिनी बैंकका खराब ऋणी पनि हुन् । 

 

यस्तो पृष्ठभूमिका भेटवालले खुलामञ्चको अतिक्रमण गरिरहँदा दूनियाँले देखे,महानगरपालिकाले देखेन । विशेषगरी मेयर शाक्यले आँखा चिम्लिदिँदा भेटवालको मनोबल बढ्यो । नेकपाका मयेर, कांग्रेसबाट उपमेयर निर्वाचित हुँदा अहिले मेयर शाक्यलाई करेक्सनको काम उपमेयर खड्गीले गर्दै आएकी छिन् । अधिकांश अधिकार मेयरमै निहित हुने कारणले उपमेयर खड्गी बोल्न मात्रै सक्छिन् । 

 

अनेक विवाद, अनियमितता र निर्णय अदक्षताका कारण मेयर शाक्य आलोचित छन् । पछिल्लो प्रकरण खुलामञ्च कब्जामा पनि देखिएको छ । 
 

विशेष