ओशो तपोवनमा एकले आत्महत्या गरे, बाँकी जीवन र मृत्युको दोसाँधमा
काठमाडौं । सन् २०१७ मार्च १७ मा भारतका एक ओशो सन्यासी मनिष रावतले ओशो तपोवनमा आत्महत्या गरेका थिए । त्यो घटनालाई आधिकारिक निकायहरुले आत्महत्या भन्ने ठहर गरेका छन् । यद्यपि घटना रहस्यमय भएको दावी गर्नेहरु पनि छन् ।
ओशो तपोवनभित्रको यातनापछि प्रहरी लगाइएपछि उनी आत्महत्या गर्न विवश भएको मान्नेहरु धेरै छन् । हालै पोखराका स्वामी समर्थले पनि स्वामी आनन्द अरुण र उनको समूहको कारण आफ्नो जीवन तहसनहस भएको र आफू आत्महत्या गर्ने स्थितिमा पुगेको भन्दै सामाजिक सञ्जालमा पीडा लेखेका छन् ।
यो प्रकरण एक फोटोबाट शुरु भएको थियो । तस्बीरमा देखिएकी महिलाका पति नारायणप्रसाद पंगेनीले पाँच वर्षअगाडि सार्वजनिक गरेका थिए । तस्बीरमा महिलाको अनुहार प्रष्ट देखिँदैन । महिलाको हातबाट परपुरुषले खुट्टा मसाज गराउनु नेपाली समाजमा त्यति शोभनीय मानिँदैन ।
पहिले नै सार्वजनिक भइसकेको तस्बीर पोखराका स्वामी समर्थ (शिब ढकाल)ले पनि सामाजिक सञ्जालमा राख्छन् । त्यसरी राखिएको फोटो ‘मेरो हो र यसबाट आफू प्रताडित भएको’ भन्दै उनी प्रहरीमा उजुरी गर्न जान्छिन् । सामाजिक सञ्जालमा राखिएको तस्बीरमा लाइक गर्ने स्वामी देवसुन्दरलाई समेत विपक्षी बनाएर प्रहरीले साइबर अपराध दावी गर्दै मुद्दा दर्ता गरिदिन्छ ।
स्वामी देवसुन्दरको दावीअनुसार पीडित भनिएकी महिला प्रयोग गरेर स्वामी आनन्दअरुण र उहाँको समूहले आफ्ना आलोचकहरुलाई दुःख दिने नियतले यो सबै गरिएको हो । देवसुन्दर भन्छन्, ‘नेपाली प्रशासन, नेपालको स्रोतसाधनको दूरुपयोग गरेर निकुञ्जमा भौतिक संरचना बनाउन सक्नेले यस्तो काम गर्न किन नसक्नु ?’
नेपालको प्रशासनिक संरचनालाई दूरुपयोग गरेर स्वामी आनन्द अरुणको तपोवनले निकुञ्जको जमिनसमेत हडपेको थियो । जुन हालै निकुञ्जले खोसेको छ । उनै स्वामीले प्रहरी प्रशासनलाई प्रभावमा पारेर यस्तो हर्कत गरेको दावी स्वामी देवसुन्दर गर्छन् ।
ओशो तपोवनले एक महिलालाई ‘सिखण्डी’ बनाएर आफ्ना आलोचकहरुसँग बदला मात्रै लिएन, मुद्दा थप्दै आजित पार्न पनि थालेको छ । यो विषय स्वामी समर्थले नै खुलासा पनि गरेका छन् । तपोवन गएर त्यहाँका निर्देशक सुदीप पौडेलमाथि हातपात र गालीगलौज गरेको समेत तीन मुद्दा स्वामी देवसुन्दरविरुद्ध दर्ता गर्न तपोवन सफल भएको छ ।
तपोवनको आलोचना गर्दै नेपालआजमा अन्तर्वार्ता दिने महिला सन्यासी अंशु गुरुङविरुद्ध पनि दुई मुद्दा दर्ता भएका छन् ।
नियतबस कसैलाई दुःख दिने उद्देश्यले झुठा मुद्दा दर्ता गरिएको भन्दै उनीहरु राष्ट्रिय मानवअधिकार आयोगमा पनि पुगेका छन् । तर आयोगले यसविषयमा चासो नदेखाएको उनीहरुको भनाइ छ ।