यता विमानस्थल बन्द हुन्छ उता कामदार रनवेमा दौडिन्छन्
सिवी अधिकारी (रासस)
काठमाडौँ। रातिको १०:१२ मिनेटको समय, ड्रागन एयर जमीन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ । उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा हुलका हुल जनशक्ति र मेशिननरी उपकरण तयारी अवस्थामा छन् ।
केहीबेरमै नालापानीको युद्धमाजस्तो गरी टोली अगाडि बढ्छन् अनि कमिलाले जसरी आफ्नो जिम्मेवारी सम्हाल्छन् । झट्ट हेर्दा कुनै युद्धको तयारीपछिको भीडन्तझै लाग्ने केही दिनअघिको यो दृश्य हो मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग ममर्तको । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत चैत १८ देखि विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको काम गरिरहेको हो ।
मर्मत अवधिको तीन महीनासम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुनेछ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थल धावनमार्गको पिच परिवर्तन गर्दा दैनिक १४ घण्टा सञ्चालन अवधि कायम भएको छ । मर्मतको अवधि अर्थात् (१अप्रिल २०१९ देखि जुन ३०) सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । यसअघि बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा थियो ।
चार सय मिटर मर्मत सकियो
विमानस्थलको धावनमार्ग हालसम्म ४०० मिटर मर्मत भइसकेको प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिए । पूर्ण क्षमताका साथ धावनमार्ग मर्मतको काम भइरहेको उनले बताए ।
विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म काम हुन्छ । धावनमार्ग स्तरोन्नतिको काम चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले गरिरहेको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटकपटक समस्या परेपछि क्यानले धावनमार्ग पूर्णरुपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना अघि बढाएको हो ।
यसरी हुँदैछ मर्मत
विमानस्थल बन्द भएपछि ठेकेदार कम्पनीका सबै उपकरण र जनशक्तिसहित ‘नोटाम’ लाग्नासाथै उपकरण रनवेमा दौडन्छन् । विमानस्थलको धावनमार्गको दक्षिण क्षेत्र (जिरो टु) तर्फबाट निर्माण कम्पनीले काम शुरु गर्छ । तम्तयार अवस्थामा बसेका उपकरणसहितको जनशक्ति विमानस्थलको (जिरो टु) रनवेमा प्रवेश गर्छ । रनवेमा पुगेका उपकरणमध्ये मिलिङ (पुरानो पिच उप्काउने) मेशिनले पिच उप्काउने काम गर्छ । मेशिनले तीन चरणमा १० र १० सेन्टिमर गहिरो पिच उप्काइन्छ ।
मेशिनको अगाडि तयारी अवस्थामा रहको टिपरमा मिलिङ मेशिनले काटेको पिच स्वचालित मेशिनबाट सिधै लोड गरिन्छ । पिच उप्काइएको ठाउँमा सफा गरी पुनः आधुनिक पेभलर मेशिनबाट नयाँ पिच गरिन्छ । रनवेमा राति १० बजेबाट बिहान करीब ५ बजेसम्म काम हुन्छ । रनवेमा थपिएको नयाँ पिच सेट हुन कम्तीमा तीन घण्टाको समय लाग्ने हुँदा ८ बजेसम्म त्यसै छोडिन्छ ।
हरेक दिन अवस्था हेरेर निश्चित मिटर रनवेमा स्तरोन्नतिको काम हुने गरेको छ । यही प्रक्रियाअनुसार तीन महीनाभित्र तीन किलोमिटर लामो धावनमार्ग पूरै नयाँ बन्नेछ । धावनमार्गको काम सँगसँगै सेन्ट्रल लाइट (धावनमार्गको बीचमा जमीनमुनि राखिने लाइट) राख्ने काम पनि सँगसँगै भइरहको छ । अहिले हरेक दिन ८० मिटर धावनमार्ग जोतेर पिच परिवर्तन गरी बिहान ८ बजे विमानस्थल सञ्चालन गरिन्छ । क्रमशः यो १०० मिटर हुँदै अझ क्षमताका साथ काम गर्ने योजना रहेको आयोजनाले जनाएको छ ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले धावनमार्गको पूर्णमर्मतको काम निरन्तर भइरहेको बताए । एक मिनेट मात्र काममा ढिला हुँदा पनि बिहान जहाज होल्ड गर्नुपर्ने बाध्यता रहन्छ । “मर्मतको काम निकै चुनौतीपूर्ण छ, तर पनि काम निरन्तर अघि बढाइरहेका छौँ, हाम्रो लक्ष्यअनुसार जुनभित्रै ‘रनवे हिह्याब’ को काम सक्छौँ । त्यसपछि रनवेमा विगतमा भएजस्तो पाप्रा उप्किने समस्याबाट मुक्ति पाएर निर्वाधरुपमा सञ्चालन गर्न सक्छौँ”, महानिर्देशक गौतमले भने ।
मर्मतका लागि सामग्रीको केही समस्या झेल्नुपरेको बताइएको छ । रोशीखोलाबाट ल्याइने गरेकामा स्थानीयले अवरोध गरेका छन् । अहिले ललितपुरको देवीचौरबाट सामग्री ल्याइरहेकामा त्यहाँ पनि अवरोध सिर्जना गरिएको छ । मर्मत सामग्रीको केही भाग पर्याप्त भएकाले काममा अवरोध नहुने जनाइएको छ । सरोकार भएका निकायसँग छलफल भइरहेकाले पछिल्ला दिनमा समस्या नआउने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार राति खनिएको रनवे बिहान नियमितजस्तै गरेर उडानका लागि तयारी बनाउनुपर्ने र मौसमअनुसार काम गर्नुपर्छ । पानी पर्ने अनुमान भएको दिन काम हुँदैन । मर्मतको काम शुरु भएपछि एक दिन मात्रै पूर्णरुपमा काम बन्द भएको आयोजनाका इञ्जिनीयर दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्ग झण्डै चार दशकपछि पूर्णरुपमा मर्मत (कालोपत्रे) थालिएको हो । असअघि समान्य मर्मत गरेर मात्रै काम चलाइँदै आइएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हरेक १० वर्षमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । चिनियाँ कम्पनीले रु चार अर्ब २७ करोडको लागतमा रनवे स्तरोन्नतिको काम गरिरहेको छ ।
यो कामका लागि नेपाली र चिनियाँ गरी दैनिक ३५० भन्दा बढी जनशक्ति खटिरहेका छन् । मर्मतपछि विमानस्थल २४ घण्टा नै सञ्चालनन योग्य हुने प्राधिकरणको भनाइ छ । रनवेको काम सकिएपछि आठ महीनाभित्र ‘ट्याक्सी वे’को काम सक्ने योजना प्राधिकरणको छ । विमानस्थलमा अहिले दैनिक १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् ।