जर्मनीको बोनस्थित राजदूतावास १९ वर्षदेखि रित्तै
काठमाडौं । जर्मनी एकीकरणअघि पश्चिम जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको भवन १९ वर्षदेखि खाली छ ।
सन २००० मा दूतावास बोनबाट सरेर बर्लिनमा सरेको थियो । त्यसयता बोनको दूतावास भवनमा खाली छ । २ हजार ८ सय ४६ वर्गमिटर क्षेत्रफलमा दूतावासका दुई भवन छन् । बोनस्थित दूतावासलाई देखाएर सरकारी सम्पत्तिको संरक्षण र उपयोग हुनुपर्छ भन्न थालिएको पनि १९ वर्ष पुगेको छ तर सो दूतावास भवन अहिले पनि रित्तै छ ।
उक्त घरको पालेपहरा, विद्युत र पानीबापत यस वर्षमात्रै ८ हजार ३३२ युरो खर्च भएको छ । प्रयोगविहिन रहेको राजदूतावास भवनका लागि राज्यले वार्षिक ८ लाखको दरले १८ वर्षमा १ करोड ४४ लाखभन्दा बढी खर्च गरिसकेको छ ।
सो सम्पत्तिको व्यवस्थापन यथाशीघ्र गर्न महालेखाको प्रतिवेदनले सुझाएको छ ।