हङकङलाई हराउँदै नेपाल लगातार दोस्रो पटक फाइनलमा
काठमाडौं। एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले फाइनलमा स्थान पक्का गरेको छ ।
शनिवार सेमिफाइनलमा हङकङलाई चार विकेटले हराउँदै साविक विजेता नेपाल लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डको चियाङ माइस्थित प्रेम तिन्सुलानोन्दा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले ३२ ओभर २ बलमा अलआउट हुँदै ८६ रन बनाएको थियो ।
हङकङका कप्तान आरुष भाग्वतले नटआउट ४३ रन बनाउनबाहेक अन्य ब्याट्सम्यान दोहोरो अङ्कमा रन जोड्न सकेन् । नेपालका निखिल कुमार सिंहले ४ तथा रमेश कुर्मी र विशालकुमार पटेलले समान २/२ विकेट लिए ।
८७ रनको लक्ष्य पछ्याने क्रममा नेपालले २१ ओभर ४ बलमा ६ विकेट गुमाएर खेल आफ्नो पक्षमा पार्यो । नेपालका लागि आशिष भट्टराई सर्वाधिक १७ रन बनाउँदा रनरोहन दुधराजले १४ रन, कृष कार्कीले नटआउट १२ तथा दिपक बोहोराले ११ रन बनाए । हङकङका बृजनाराइन शेउपुरीले ३, अहान कन्हाइ त्रिवेदीदले २ तथा रौनक कपुरले १ विकेट लिए ।
मलेसिया र सिंगापुरबीच आजै हुने अर्को सेीफाइनलको विजेता र नेपालबीच उपाधि भिडन्त हुनेछ ।