अर्थ रोजगार देश

पन्ध्रौं योजनालाई लक्षित गर्दै राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि

पन्ध्रौं योजनालाई लक्षित गर्दै राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि

काठमाडौं। राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि बस्ने भएको छ। पन्ध्रौं योजनालाई लक्षित गर्दै राजधानीमा बुधबार र विहीबार दुई दिन परिषद्को बैठकको आयोजना गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ।

 

पन्ध्रौं योजनाको तयारीमा रहेको आयोगले योजनाको आधारपत्रमाथि छलफल गर्न परिषद बैठक आयोजना गरेको आयोगका सहसचिव डा. किरण रूपाखेतीले जानकारी दिएका छन्। 
यो बैठकले पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रूप दिनेछ।

 

आयोगका सदस्य मीनबहादुर शाहीले २५ वर्षे विकास अवधारणासहित पन्ध्रौं योजनाको तयारी गरिरहेको भन्दै त्यसैको आधारपत्रलाई अन्तिमरूप दिन परिषद बैठक बोलाइएको जानकारी दिए। 
उनले पन्ध्रौं योजनालाई नीतिगत फड्को मार्ने लक्ष्यका रूपमा समेत लिएको बताए। 

 

आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई मूल लक्ष्य बनाएर दीर्घकालीन रणनीति बनाइएको जानकारी दिए। 
उनले परिषद बैठकबाट प्राप्त हुने सुझावलाई समेटेर आधारपत्रलाई अन्तिम रूप दिएर मन्त्रिपरिषदमा प्रस्ताव पठाउने बताए। 
आयोगले वैशाख पहिलो सातासम्ममा आधारपत्र सार्वजनिक गर्ने पनि जानकारी दिए। 

 

पत्रकार सम्मेलनमा योजना आयोगका सदस्य लक्ष्मण अर्यालले पछिल्ला तीनवटा योजना त्रिवर्षीय बनेका र राजनीतिक स्थायित्वसँगै पञ्चवर्षीय योजनाको तयारी गरिएको उल्लेख गरे।

उनले योजनाको आधारपत्र तयारीका क्रममा स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रसमेतको सहभागितामा छलफल गरिएको बताए।

‘हामीले तीव्र विकास र उच्च आर्थिक वृद्धिको लक्ष्यसहितको दीर्घकालीन योजनाको आधार तयार गरेका छौँ ।’ उनले भने, ‘संघीयताको कार्यान्वयन गर्ने पहिलो योजना भएकाले यसको विशेष महत्व रहेको छ ।’ 

राष्ट्रिय विकास परिषद

विशेष