कभर स्टोरी

‘पब्जी, पोर्न साइट होइन, विद्यार्थी संगठन प्रतिबन्ध हुनुपर्छ’ (भिडियोसहित)

‘पब्जी, पोर्न साइट होइन, विद्यार्थी संगठन प्रतिबन्ध हुनुपर्छ’ (भिडियोसहित)

काठमाडौं । अब्दुस मियाँ, साझा विवेकशील पार्टीका युवा नेता हुन् । विषयको गहिराई बुझ्ने, तर्कवितर्क गर्ने खुबीका कारण अब्दुस चर्चित युवा नेताको सूचीमा छन्, यद्यपि उनको पार्टीको आकार भने हाललाई ठूलो छैन । 

 

सरकारले पब्जीमा प्रतिबन्ध लगायो, त्यसअघि पोर्न साइटहरुमा प्रतिबन्ध लाग्यो । सरकार विभिन्न क्षेत्रमा प्रतिबन्ध घोषणा त गरिरहन्छ तर अध्ययन अध्यापन, अनुसन्धान हुनुपर्ने विश्वविद्यालयलाई राजनीतिको थलो बनाउने कार्यमा प्रतिबन्ध लगाउँदैन । विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध लगाउनु पर्ने विचार राख्ने अब्दुस सरकारको रबैयाबाट पनि आजित छन् । सरकारका कच्चा कामको आलोचना मात्रै गर्दा पनि ‘प्रतिक्रियावादी’ को संज्ञा पाइने स्थितिले सुशासनको प्रत्याभूति हुन नसकेको अब्दुस बताउँछन् । 

 

नेपालको राजनीतिको नेतृत्वमा पुग्न युवाहरुका लागि सजिलो नभएको उनी बताउँछन् । प्रतिभाशाली मानिसहरु बुढाहरुको पछाडि बसिरहनु पर्ने र पालो कुर्नु पर्ने अवस्था आएको उनले बताए । पालो कुर्दाकुर्दै प्रतिभाशाली युवाहरु पनि बुढा हुने र देश विकास गर्ने उत्साह त्यसै मरेर जाने अवस्था रहेको उनी तर्क गर्छन् । 

 

सत्तामा जानेहरुले सरकार चलाईहाल्छन् । जाने जनादेश नपाएकाहरुले विभिन्न फोरमहरुबाट सरकारलाई प्रश्न गर्छन् । त्यो फोरम चाहे सडक नै किन नहोस् । प्रश्न गर्दा वर्तमान सरकारका मानिसहरुले उल्टै प्रश्न गर्छन्, ‘तिमीहरुले चाहिँ के गरिररहेका छौं ?’ खासमा प्रतिपक्षी हुन् या जो कोही नागरिक, उनीहरुले प्रश्न गर्ने भनेको सरकारलाई हो । यति सामान्य लोकतान्त्रिक कल्चर पनि नबुझ्ने सरकारप्रति धेरै अपेक्षा नरहेको अब्दुस बताउँछन् । 

">

युवाहरुका बारेमा टिप्पणी गर्दै उनले भने, ‘देशका ८३ प्रतिशत युवाहरु विदेश गएको तथ्यांकले म आश्चर्यचकित भएको छु । हिजोका युवा राजनीतिमा आए । आफ्नो ढंगले गरे । तर आजका युवासँग मिडिया र टेक्नोलोजी पनि छ । जसका माध्यमबाट नयाँ प्रतिभाशाली युवाहरु आउन सक्छन् । नयाँ सोच र ऊर्जा भएका युवाअगाडि आउन जरुरी छ । ’

 

नेपालमा एउटै नेताले पद ओगटेर बसिरहने चलनका कारण युवाहरु पछि परेको उनी तर्क गर्छन् । शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा राजनीतिमा प्रवेश नै नगरेका बराक ओबामा दुई कार्यकाल पूरा गरेर रिटायर्ड भइसक्दा पनि नेपालमा देउवा फेरि पनि प्रधानमन्त्रीको कुर्सीमा बस्न पाउँछु कि भनेर बसिरहेका छन् । उनी भन्छन्, ‘अरु पार्टीहरुमा केही नेताहरु हुनुहुन्छ, जोबाट आशा गर्न सकिन्छ । तर त्यस्ता युवाहरु नेतृत्वमा पुग्ने सम्भावना निकै कम छ । यसकारण युवाहरु पुग्ने सम्भावना कम नै छ ।’
 

विशेष