लगातार दोस्रो पटक उपाधी विजेता बन्यो नेपाल
काठमाडौं। एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधी नेपालले लगातार दोस्रो पटक जितेको छ ।
आइतबार फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधी रक्षा गरेको हो । थाइल्याण्डको चियाङ माइस्थित प्रेम तिन्सुलानोन्दा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा नेपालले १ सय ४० रन बनाएको थियो ।
नेपालका प्रशान्त महतले सर्वाधिक ४० रन बनाए भने दिपक बोहोरा २३, कप्तान विशाल विक्रम केसी १७ र निखिल कुमार सिंह १३ रनमा पेभेलियन फर्किए । मलेसियाका सचिनु हेत्तिग्गेले ३ तथा जिनेन्द्र मुरलीले २ विकेट लिएका थिए ।
१ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसियाले ३४.५ ओभरमा ८१ रनमा अलआउट भयो । मुहम्मद हाजिक अइमानले सर्वाधिक १८ रन बनाउँदा वान मुहम्मद अजामले १६ र जिनेन्द्र मुरलीले १४ रन बनाए । नेपालका विशालकुमार पटेलले ४ तथा दीपक बोहोराले ३ विकेट लिए ।