खेल

आइपीएलः १७ बलमा अर्धशतक, तोडियो पन्तको रेकर्ड

आइपीएलः १७ बलमा अर्धशतक, तोडियो पन्तको रेकर्ड

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सका अलराउन्डर हार्दिक पाण्ड्याले १७ बलमै अर्धशतक पूरा गरेका छन् । उनले आइतबार राति कोलकाता नाइट राइडर्सविरुद्ध १७ बलमा ५० रन पूरा गरे । हार्दिकले १८ बलमा ५० रन पूरा गर्ने ऋषभ पन्तको नाममा रहेको रेकर्डसमेत तोडे । उनले १३.२ ओभरमा सुनिल नारायणको बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । हार्दिकले ५० रन पूरा गर्दा ७ छक्का र एक चौका प्रहार गरेका थिए । उनी शतक प्रहार गर्नबाट भने चुके । हार्दिकले ३४ बलमा ९ छक्का र ६ चौकाको मद्दतमा ९१ रनको बिस्फोटक ब्याटिङ गरे । उनले उत्कृष्ट प्रदर्शन गरे पनि मुम्बई कोलकातासँग ३४ रनले पराजित भयो । 

 

कोलकाताले घरेलु मैदानमा दिएको २३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो । मुम्बईका लागि हार्दिक ९१, सूर्यकुमार यादवले २६, कुणाल पाण्ड्याले २४, किरण पोलार्डले २०, इभन लुइसले १५ र कप्तान रोहित शर्माले रन बनाए । बलिङमा कोलकाताका सुनिल नारायण, आन्द्रे रसेल, ह्यारी गुन्रीले दुईदुई र पियूष चवालाले एक विकेट लिए ।

 

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३२ रन बनायो । उसका लागि शुभवन गिलले ६५ बलमा ७६, क्रिस लिनले २९ बलमा ५४ रन बनाए । यस्तै आन्द्रे रसेलले नटआउट ८० रन प्रहार गरे । उनले त्यसक्रममा ८ छक्का र ६ चौका लगाए । कोलकाताका लागि कप्तान दिनेश कार्तिकले नटआउट १५ रनको योगदान दिए ।

 

बलिङमा मुम्बईका दीपक चहर र हार्दिक पाण्ड्याले एक-एक विकेट लिए । यो जीतसँगै कोलकाता १० अंकका साथ तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । मुम्बई १३ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।

इन्डियन प्रिमियर लिग आइपीएल

विशेष