प्रवास मनोरञ्जन स्वास्थ्य सामाजिक सञ्जाल

सुटिङ स्थलबाटै नायिका श्वेता खड्का दिल्ली अस्पतालमा

जीवनले आफुसँग दोस्रो पटक खेल खेलेको उनले बताइन्

सुटिङ स्थलबाटै नायिका श्वेता खड्का दिल्ली अस्पतालमा

काठमाडौं । नायिका श्वेता खड्का गम्भिर स्वास्थ्य समस्याका कारण भारतको दिल्ली बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना भएकी छिन् । 
घाटिमा ट्युमर देखा परेपछि नायिका खड्कालाई उपचारका लागि दिल्ली पुर्याईएको हो । 

 

हालै उनको शल्यक्रिया पछि ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी छिन् । श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यसबारे जानकारी दिँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताएकी छिन् ।

 

फिल्म ‘हेलो जिन्दगी’को सुटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि सुटिङ स्थलबाटै अचानक दिल्ली पुर्याइएको थियो । 
लण्डन उड्नु अघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर हो र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि ढुक्क भएर लण्डन गएको उनले बताइन् ।

तर अचानक स्वास्थ्यमा खराबी देखिएपछि तत्कालै शल्यक्रिया गर्नुपर्ने डाक्टरको सल्लाहमा आफू दिल्ली पुगेको उनले फेसबुक स्टेटसमा जानकारी दिएकी छिन् । 

उनले भनिन्, ‘लण्डनमा केही दिनको सुटिङपछि एकाएक मलाई घाँटी र चिउँडोमा निकै पीडा हुनथाल्यो, ज्वरो पनि बेस्सरी आयो ।  मलाई तत्काल दिल्ली लगियो । डा. सुरेन्द्र कुमार दबासले ‘रोबोटिक सर्जरी’ गरे र नेपालबाट डा. पंकजले सबै व्यवस्था मिलाइदिएपछि शल्यक्रिया सफल भयो ।’

 

यस घटनापछि आफूले जीवनबारे अर्को पाठ सिकेको खड्काले बताएकी छिन् । 
‘‘कहिले के हुन्छ हामीलाई थाहा हुँदैन, जीवनले कता डोहोर्याउँछ, त्यो पनि थाहा हुँदैन ।’

उनले स्वास्थ्यका कारण फिल्ममा काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको समूहसँग माफी मागेकी छिन् । डरलाग्दो अवस्थालाई आफूले पुनः जीत्न सफल भएको उनले बताइन् ।

श्वेता खड्का

विशेष