भारत सरकारको सहयोगमा ५० हजार घर पुनर्निर्माण हुँदै (भिडियोसहित)
नुवाकोट । भूकम्पपश्चात नेपाल सरकारले आव्हान गरेको दातासम्मेलनमा भारत सरकारले प्रतिवद्धता जनाएको ५० हजार घरको पुनर्निर्माण धमाधम भइरहेको छ । यसअनुसार भारत सरकारले नुवाकोट र गोरखाका भूकम्पपीडितका घर बनाइरहेको छ ।
नुवाकोटमा २३ हजार ८८ र गोरखामा २६ हजार ९ सय १२ घर बनिरहेका छन् । नुवाकोटमा ७२ हजार ८ सय ७१ धुरीको सर्भे भएको थियो । लाभग्राही सूचीमा पर्नेको संख्या ७४ हजार ९ सय ४३ छ । त्यसमध्ये ९३६ वटा घर प्रबलीकरण गरी बस्न लायक बनाइएको छ । नयाँ घर बनाउन ७१ हजार ३ सय ८६ सम्झौता भएका थिए । यति नै संख्याको घर परिवारसंग अनुदान सम्झौता भएको थियो ।
त्यसो त पहिलो किस्ता सतप्रतिशतले प्राप्त गरिसकेका छन् । दोस्रो किस्ता पाउनेको संख्या ६३ हजार ४ सय ४ छ भने ४० हजार ३ सय ५२ ले तेस्रो किस्ता रकम हात पारिसकेका छन् । पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार नुवाकोटमा ६९ हजार ५ सय ९ वटा घर बन्दै गरेकोमा ४५ हजार ८ सय ६ वटा घरले निर्माण सम्पन्नको प्रमाणपत्र पाइसकेका छन् । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ निर्माण गतिबाट सन्तुष्ट हुनुहुन्छ ।
नेपाल आजको टिम भूकम्पपछिको पुनर्निर्माण स्थलगत रिर्पोटिङका लागि नुवाकोटका विभिन्न गाउँ पुगेको थियो । आफ्नो घर बनाउन स्थानीय कम्मर कसेर लागेका छन् । कतिपय गाउँमा घरका पुरुष वैदेशिक रोजगारीका लागि गएपछि घर बनाउने काममा महिला जुटेको देखियो । विदुर नगरपालिकामा वडा नम्बर १ मा आमा बाबुविहीन बालबालिका स्वस्तिका र राज नापितका लागि सबै मिलेर घर बनाइदिएको दृश्य साँच्चै प्रेरणादायी थियो । नाना, खाना, छानाबाट पीडित यी अभागी बालबालिका नयाँ घर बन्ने भएपछि खुसी देखिन्थे ।
भूकम्प र त्यसपछि समाजमा धेरै मानवीय संवेदनाका दृश्य बढेका छन् । लीलामाया तामाङ पनि सहाराविहीन एकल पात्र हुन् । भएको घर भत्कियो । १६ वर्षदेखि पति बेपत्ता छन् । सन्तान लाखापाखा लागेका छन् । घर कसरी बनाउने ? कहाँ जाने पत्तो थिएन । जब यो परियोजनाको प्राविधिक र सामाजिक सहजीकरणको जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (ग्ल्इएक्) का कर्मचारी उनको घर पुगे, पीडा शान्त भयो ।
पुनर्निर्माण समयमै सम्पन्न गर्न २० वटा स्थानमा प्राविधिक सहायता केन्द्र स्थापना भएका छन् । सेवा केन्द्रमार्फत निःशुल्क नक्सा, निर्माण सम्बन्धी सल्लाह सुझाव, सुपरिवेक्षणका कामलाई प्रभावकारी बनाइएको छ ।
घर त बनेका छन् । तर नेपाली संस्कार, संस्कृति र परम्परा बोकेका घर कमै बनेका देखियो । यसतर्फ पनि विचार गर्न सकेको भए सुनमा सुगन्ध हुने थियो ।
भत्केका घरहरुको पुनर्निर्माणले गति लिइरहे पनि भूकम्पमा क्षति पुगेको नुवाकोटको ऐतिहासिक दरबार भने पुनर्निर्माणको कामले भने गति लिएको छैन । चीन सरकारले निर्माण गर्ने जिम्मेवारी लिएको थियो । काठमाडौंस्थित वशन्तपुर दरबार क्षेत्र र दरबार हाइ स्कुलको निर्माणमा चिनियाँ पक्षले तदारुकता देखाए पनि नुवाकोट दरबारमा भने उदासिनता देखाएको पाइयो ।
यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।