विचार

पानी बेच्ने कि मेलम्ची हेर्ने  !

पानी बेच्ने कि मेलम्ची हेर्ने  !

यदि प्रधानमन्त्री ३० वर्षकै छन् भने  पनि ७० वर्षका जेष्ठ नागरिकको भरोसा तिनै ३० वर्षेसँग हुन्छ । पदको गरीमा र जिम्मेवारी नै यस्तै हुन्छ । कतारलाई नेपालको पानी बेच्ने र पानी एटिएम प्रशंग उठाएर कलिलो उमेरकी खानेपानीमन्त्री बीना मगरले मेलम्चीको दूर्दशा ढाकछोप गर्ने प्रयत्न गरेकी छिन् ।

 

खानेपानीमन्त्रीको यतिबेलाको प्राथमिकता कतारलाई पानी बेच्नु हो कि अर्बौं स्वाहा भइसकेको मेलम्चीको अधुरो काम पूरा गर्नु हो ? पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुनुको नाताले प्राप्त मन्त्री पदमा अब अलिकति फेरि नातावाद भजाएर एउटा निर्णय क्याबिनेटबाट गरिदिन सक्ने हो भने उनको कार्यकाल सफल हुन्छ । मेलम्चीको बाँकी काम टेण्डर प्रक्रियाबाट जाँदा महिनौं लाग्छ । मन्त्रिपरिषदले सोझै बाँकी काम सेना वा कसैलाई दिने हो भने टेण्डर गरिरहनु पर्दैन ।

 

सुशासनको दृष्टिले सार्वजनिक खरिद ऐन छल्नु उपयुक्त नहोला तर उपयुक्त उद्देश्यका लागि थप एक अनुपयुक्त काम गर्दा फरक पर्दैन । बजेटको अर्धबार्षिक समिक्षामा मेलम्चीको पानी विक्रम सम्वत् २०७९ सालमा मात्रै आइपुग्ने उल्लेख छ । ३३ अर्बको मेलम्ची योजनाको भौतिक प्रगति ९३ प्रतिशत सम्पन्न भइसकेको छ । ७ प्रतिशत काम सक्दा सय प्रतिशतको जस बीनालाई जान्छ  । तर उनी यसबारे बेखबर जस्तो देखिन्छिन् । यसअर्थ बीना वास्तवमै बिनाअर्थकी मन्त्री बन्ने सम्भावना बढी छ । 

 

कलिलो उमेरकी, लेखाइपढाइ पनि धेरै नभएकी, जीवनसाथी पनि गुमाएकी, एक नारीका विषयमा यसरी टिप्पणी गर्नु शोभायमान छैन । तर त्यो पद नै त्यस्तै हो, त्यही पदको एक निर्णयले काठमाडौंबासीको काकाकुल जीन्दगी अलिकति फेरिन सक्छ । कर्कलो भन्ने जानेर पनि बञ्चरो जस्ता शब्द लेखिन थालेका छन् । 

 

१० वर्षदेखिको मेलम्चीमा आँखा चिम्लेर मन्त्री मगर कहिले पानीको एटिएम उद्घाटन गर्न पुग्छिन् । कहिले कतारका राजदूतसँग नेपालको पानी बेच्ने छलफल भएको भनेर प्रचार गराउँछिन् । एउटा व्यक्तिमा सबै प्रकारण्को दक्षता हुँदैन । यसकारण बीनाको पनि मन्त्रालय सञ्चालन गर्ने विषयमा दक्षता पुगेन भन्न सकिन्छ । त्यस्तो दक्षता पुग्दैन भनेरै सल्लाहकार राख्ने, सचिव, सचिवालयको सुविधा मन्त्रीलाई दिइएको हो । विज्ञहरुको टिम बनाएर कसरी गर्ने भनेर छलफल चलाउन सकिन्छ । ३३ अर्बको प्रोजेक्ट डुबिरहँदा एटिएमको रिबन काट्दै हिँड्नु एक मन्त्रीका लागि शोभायुक्त कुरा होइन । 

 


अब रह्यो कतारलाई पानी बेच्ने कुरा । सम्भवतः बीनाले हिमालयन स्प्रिङ वाटर बेच्ने कुरा गरेको हुनुपर्छ । चीन भारत जस्ता देशले राम्रो गुणस्तरको हिउँ सोझै प्याक गरेर सिंगापुर पुर्‍याउँछन् । ह्वीस्कीमा आइसको सट्टा हिमालयको हिउँ हालेर पिउँने उच्चस्तरका मदिराप्रेमीले महंँगोमा हिउँ किन्छन् । नेपालको हिमालयमा रहेको हिउँबाट पग्लेको पानी सोझै (प्रशोधन नगरी नै) प्याक गरेर हिमालय स्प्रिङ वाटर उत्पादन गर्ने एक उद्योग धुन्चेमा छ । त्यसको नाम हो – हिमालयज स्प्रिङ वाटर प्राली । 

 

यो उद्योगले हिमालयको पानी सोझै बोतलमा भर्छ र स्वदेश/विदेशमा बिक्री गर्छ । यस्ता उद्योग फस्टाउन सकेको छैन । कतारलाई पानी बेच्नु अघि भएका उद्योगले किन गति लिन सकेनन् भन्ने बुझ्नु पर्छ । हचुवाको भरमा कतारलाई पानी बेच्छु भन्नु र महाकाली सन्धिताक स्याटेलाइटबाट ‘चीनलाई बिजुली बेच्छु’ भने जस्तै हुन सक्छ । 

 

नेपालबाट कतार, दुवई, साउदी आदि खाडी मुलुकमा पानी मात्रै होइन हरिया तरकारी पनि बेच्न सकिन्छ । भारतले टनका टन अर्गानिक हरिया तरकारी एकाबिहानै खाडी पुर्याउँछ । हामी उल्टो तरकारी किनेर खान्छौं । यस्तो किन त ? 

 

नेपालको एअर फ्रेट (हवाई ढुवानी भाडा) प्रतिकेजी ३ डलर छ । भारतमा १ डलर छ । एक लिटर पानीको वजन १ केजी हुन्छ । पानीको सापेक्षतामा वस्तुको वजन निर्धारण हुन्छ । यसअर्थ पानी जति लिटर भयो वजन त्यति नै केजी हुने भयो । ३ डलर भाडा नै तिरेर कतार पुर्‍याइएको पानीको मूल्य त्यहाँ कति राख्ने ?  उत्पादन लागत र नाफा राख्दा २ सय जोड्नु पर्ला । अनि ५ सय रुपैयाँ लिटरमा कतारमा पानी बेच्न सम्भव होला ? 

 

पानी मात्रै होइन नेपालबाट हरिया बेमौसमी तरकारी जति लैजान सके पनि खाडीमा बिक्री हुन्छ । त्यो पनि राम्रो मूल्यमा । नेपालमा लगानी गर्ने विषयमा सहमति गर्न आएका युएइका फाइनान्स सचिव अब्दुल्ला विन अहमद अल सलेहले मैसँग भनेका थिए कि हामी आफैं पनि नेपालमा लागनी गर्न इच्छुक छौं । तिनै अब्दुल्ला यसपटकको लगानी सम्मेलनमा पनि आए । उनले नेपालले कृषिजन्य वस्तु युएई पठाउने सक्ने सम्भावना औल्याएका थिए । 

 

दुवईमा आधार बनाएर अमेरिका, बेलायत, अष्ट्रेलीयामा लगानी गरेका नेपाली उद्यमी डा.आसिफ अलि शिद्धिकीले पनि मैसँगको कुराकानीमा नेपालको पहाडी क्षेत्रमा अर्गानिक बेमौसमी तरकारी उत्पादन गर्ने कृषि उद्योगमा लगानी गर्ने इच्छा देखाएका थिए । पानीमै पनि सम्भावना नभएको होइन । तर भएका उद्योगहरुको समस्या नबुझी कतारका राजदूतसँग छलफल गर्दैमा फलदायी होला ? डिप्लोम्याटहरुका अगाडि त जस्तो प्रस्ताव लगे पनि ‘हुँदैन, सक्दिनँ’ त भन्दै भन्दैनन् । 

 

मन्त्री मगरका लागि अहिले स्वर्णीम समय हो । किनभने उनी अहिले मन्त्री छिन् । उनकै पार्टीले सरकार चलाएको छ । आफ्ना ससुरा पार्टी अध्यक्ष छन् । अहिले पनि नगरे कहिले गर्ने ? 
 

विशेष