समाज

विद्यार्थीलाई घरका लागि सालको पात टिप्न पठाउने यी कस्ती प्रधानाध्यापक ?

बाहुन क्षेत्रीका छोराछोरीले मात्रै पात टिपेर ल्याउन निर्देशन

विद्यार्थीलाई घरका लागि सालको पात टिप्न पठाउने यी कस्ती प्रधानाध्यापक ?

प्युठान । प्युठानको मल्लरानी गाउँपालिका–५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले विद्यार्थीलाई आफ्नो घरका लागि सालको पात टिप्न जंगल पठाएकी छिन् ।

 

पुण्यकर्ममा दलितले छोएको पात चल्दैन भनेर विभेद गरेपछि उनीमाथि दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको छ । गत २८ फागुनमा प्रधानाध्यापक श्रेष्ठका बुबाको १३औँ पुण्यतिथि थियो । 

 

त्यसको अघिल्लो दिन २७ फागुनमा श्रेष्ठले विद्यालयमा फोन गरिन् र विद्यार्थीलाई सालको पात टिपेर भोलिपल्ट पुण्यतिथिमा आफ्नो घर पठाइदिनू भनिन् । फोनमा श्रेष्ठले बाहुन, क्षेत्रीका छोराछोरीलाई मात्र पठाउनू, दलित विद्यार्थीलाई नपठाउनू भनेको विद्यार्थीहरूले बताएका छन् । 

 

२८ फागुनमा विद्यालयबाट आधा घन्टाभन्दा टाढा रहेको प्रधानाध्यापकको घरमा गैरदलित विद्यार्थी पात लिएर पुगे । उनीहरूलाई घरमै पितृप्रसाद दिइयो । सोही दिन प्रधानाध्यापक श्रेष्ठले स्कुल पुगेर दलित विद्यार्थीलाई पनि पितृप्रसाद बाँडिन् । 

 

त्यसपछि यस घटनाबारे चर्चा सुरु भयो । दलित विद्यार्थीले घर पुगेर प्रधानाध्यापकले आफूहरूलाई भेदभाव गरेको बताए । केही दिन गाउँमै यसबारे छलफल भयो । अन्ततः गत मंगलबार जिल्ला प्रहरी कार्यालय प्युठानमा प्रधानाध्यापक श्रेष्ठले जातीय विभेद गरेको भन्दै जाहेरी दर्ता भएको छ । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

प्रधानाध्यापक सालको पात

विशेष