विचार

हाम्रा चेलीको व्याथा : 'हामी पर सरेको होइन सारिएको हो'

हाम्रा चेलीको व्याथा : 'हामी पर सरेको होइन सारिएको हो'
  • रमेश विकल

तनहुँ । नेपाली महिला वा आम संसारका महिला के चाहन्छन् भन्ने विषयमा केही दिन अगाडिको सामाजिक सञ्जाल फेसबुकबाट एउटा प्रेरक प्रसंग साभार गरी आजको लेखनी सुरु गर्न चाहँन्छु ।

 

मृत्युको मुखमा पुगेका एक राजालाई यदि महिला के चाहन्छन् ? भन्ने प्रश्नको उत्तर दिन सके पुनः जीवन प्राप्त हुने बताइयो । उत्तरको खोजी गर्ने क्रममा राजा एक अत्यन्त कुरूप महिला भएको ठाउँमा पुगे । ती महिलाले आफ्नो विवाह राजकुमारसँग गरिदिने भए, उक्त प्रश्नको उत्तर दिने बताइन् । बाबुको जीवनका लागि राजकुमा र वृद्धासँग विवाह गर्न तयार भए र घुम्टोमा छोपेर वृद्धालाई दरबार लगियो । साँझ राजकुमार कोठामा आउँछन् त वृद्धा एकदम सुन्दर युवती बनेकी । यस्तो कसरी भयो भन्ने जिज्ञासमा ती महिलाले भनिन्  'म रात वा दिन मध्ये कुनै एक समयमा राम्री युवती र अर्को समयमा वृद्धा बन्न सक्छु, अब तपाईं भन्नुस म कुन समयमा युवती र वृद्धा बनौं?' 

 

राजकुमारले संयमित हुँदै भने, 'शरीर तिम्रो हो, चाहना पनि तिम्रै हुनुपर्छ । तिमीलाई जे ठीक लाग्छ, त्यही गर । तिम्रो निर्णय मलाई स्वीकार्य छ ।' राजकुमारको जवाफ सुनेर महिलाले भनिन्  'म कति बेला के बन्ने, कस्तो बन्ने, मैले के गर्ने, के नगर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार दिएर तिमीले मेरो स्वतन्त्र अस्तित्व र आत्मसम्मानको रक्षा गर्‍यौ । म के चाहन्छु भनि मेरो रोजाइको सम्मान गर्‍यौँ । अब म दुबै समय सुन्दर युवतीको रूपमा रहने छु । राजकुमार, बूढा महाराजलाई भनिदेऊ, महिलाहरू यही चाहन्छन् ।

 

नेपाली छोरी वा महिलाको रोजाइको सम्मान नहुने गरेका हामीसँग धेरै उदाहरण भेटिन सक्छन्, खोज्दै जाँदा । भर्खरै भएको भनेर सुनिएको एउटा घटना यहाँ उल्लेख गर्दा सायद अझ स्पष्ट हुन सकिन्छ । २४ वर्षीया युवतीले घरमा विवाहको कुरा चल्दा जब आफ्नो रोजाइ अर्कै रहेको उल्लेख गरिन तब छोरीको रोजाइ मन नपरेका बाबुले छोरीको हातबाट मोबाइल खोसेर धुलोपिठो बनाए । स्नातक तहको अध्ययन सकेकी ती युवतीको रोजाइको सम्मान स्नातक उत्तीर्ण उनका बाबु र शिक्षित भनिएको उनको परिवारले गर्न सकेन भने सामान्य लेखपढ मात्र भएका वा नपढेका परिवारका महिलाका रोजाइको हालत के होला ? हामी अनुमान मात्र गर्न सक्छौं ।

 

केही समय अगाडि एक आफन्तको घरमा मैले रात बिताउनु पर्नेभयो । साँझ परिवारका सबै भान्सामा बसेर गफगाफ गर्न थाल्यौं तर स्नातक पढ्दै गरेकी छोरी ढोका छेऊ बसेर हाम्रो कुरा सुनिरहिन् । अनुमान गर्न गाह्रो थिएन उनी हाम्रो भाषामा 'पर' सरेकी थिइन् । कुरैकुरामा उनले भनिन् 'म पर सरेकी होइन पर सारिएकी हुँ ।'

 

जतिबेला एउटी युवतीलाई परिवारको थप स्याहार र मायाको आवश्यकता पर्दछ, त्यही बेला अलग्गै बस्नुपर्ने, परिवारसँग छोइनु नहुने जस्ता कुराले उनीहरूको आत्म सम्मानमा कस्तो असर पुग्दो हो । अझ घरमा पालिएको कुकुर निर्वाध र सधैँ घरभित्र आउन जान स्वतन्त्र छ तर एउटी छोरीलाई त्यो अवसर छैन । उसको अस्तित्वको के मूल्य भयो ?

 

छाउप्रथाको नाममा रजस्वला भएका युवतीमाथी नेपालको पश्चिममा हुने अमानवीय व्यवहार त झन कहाली लाग्दो छ । वादी समुदायमा महिलाको अवस्था पनि त्यत्तिकै दयनीय छ । दाइजो नल्याएको निहुँमा विशेष गरी तराईमा महिलामाथि हुने अमानवीय व्यवहार पनि कायमै छ । हामी वा हाम्रो समाजले महिलाका अस्तित्वको र आत्मसम्मानको कति रक्षा गर्ने गरेका छौँ ? अनि उनीहरूका रोजाइको कति सम्मान गर्ने गरेका छौँ ? आत्मसमीक्षा गर्ने बेला भएको छ ।

 

आधा आकाश ओगटेका महिला पछाडि रहँदा वा पछाडि पारिँदा समाजले अपेक्षित विकासको गति लिन सक्दैन । लैङिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार भन्ने नाराका साथ यो वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको सन्दर्भमा नेपाली समाजमा महिलाका माथिका असमान सोच र व्यवहारको अन्त्यको कामना । महिलामाथि हुने सबैखाले असमानताको अन्त्य भई राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा समान र अर्थपूर्ण सहभागिताको अवसर सबै महिलालो प्राप्त गरून्, यही कामना ।

महिला अधिकार छाउपडी

विशेष