स्वास्थ्य

गर्भवती महिलाका घरमा पहेँलो झण्डा फर्फराइँदै

गर्भवती महिलाका घरमा पहेँलो झण्डा फर्फराइँदै

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ का अधिकांश घरको छाना तथा घर नजिकैको आँगनमा झण्डा गाडिएका छन् । गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयवासी घरमा झण्डा गाडिएको हो ।

 

सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताए । गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने भएकाले उनीहरुलाई सेवा प्रदानमा सहज होस् भनेर झण्डा गाडिएको अहेव कलौनीले बताए ।

 

वडामा रहेका गर्भवती महिलाका घरमा पहेँलो र दुई वर्षमुनिका बालबालिका भएका घरमा हरियो झण्डा गाडिएको उनले बताए । झण्डा गाडिएका घरमा स्वास्थ्य र पोषणका कार्यक्रम केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको कुरा सबैलाई जानकारी दिन पनि सजिलो भएको अहेव कलौनीको भनाई छ ।

 

वडाभरिका सुनौलो हजार दिनका आमा र बच्चा कोही पनि कुपोषित नहोऊन् र उनीहरुको पोषणमा पहुँच पुर्‍याउन सजिलो होस् भन्ने हेतुले झण्डाले घर चिनाएको उनले बताए । घरको छानामा झण्डा राखेदेखि स्वास्थ्यकर्मीले समेत नियमितरूपमा गर्भजाँच गराए/नगराएको बारेमा, पोषिलो खानेकुरालगायतका विषयमा सोध्ने गरेको स्थानीयवासी सीता पार्कीले बताइन् । हरियो र पहेँलो झण्डाले चिनाएका घरमा पोषणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भएको छ ।

गर्भवती

विशेष