खेल

रसेल - द नाइट, ४ खेलमा ३ म्यान अफ दि म्याच

रसेल - द नाइट, ४ खेलमा ३ म्यान अफ दि म्याच

काठमाडौं। क्रिकेट खेलको कुम्भ मेला मानिने इन्डियन प्रिमियर लिग(आइपीएल) को १२औं संस्करण जारी छ । १२ वटै संस्करणको एउटा टोली कोलकता नाइट राइडर्स । कोलकता सन २०१२ तथा २०१४ को उपाधि विजेता हो । कोलकताका खेलाडीलाई नाइट भनिन्छ । नाइट भन्नाले बहादुरी दर्साउछ । 

यस संस्करणको सर्वोत्कृष्ट नाइटको रुपमा आन्द्रे रसेल उभिएका छन् । वेष्ट इन्डिजका हार्ड हिटर ब्याट्सम्यानको पहिचान भएका रसेलले कोलकताका लागि खेलेको यस संस्करणका पछिल्ला चारवटै खेलमा महत्वपूर्ण रुपमा ब्याटिङ गरेका छन् । ब्याटिङ मात्र नभइ बलिङमा पनि उनी प्रखर रहेको प्रमाणित गरेका छन् ।

पहिलो खेल: हैदरावादविरुद्ध १९ बलमा ४९ रन, २ विकेट

जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादविरुद्ध घरेलु टोली कोलकताले ६ विकेटले जित निकाल्यो । २ बल बाँकी छदैँ जितेको खेलमा कोलकताका लागि रसेलको पारी निकै महत्वपूर्ण रहयो  । रसेलले १९ बलमा समान ४ चौका र छक्काको मद्दतले नटआउट ४९ रन बनाएका थिए । अन्तिम २ ओभरमा ३४ रन चाहिएको अवस्थामा रसेलले १९औं ओभरमा २ छक्का र २ चौका प्रहार गरेका थिए  । बलिङ गर्ने क्रममा उनले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिएका थिए । उनी उक्त खेलमा म्यान अफ दि म्याच भएका थिए ।

दोस्रो खेल: पञ्जावविरुद्ध ४८ रन, २ विकेट

किंग्स इलेभेन पञ्जावविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २ सय १९ रन बनाउदा रसेलले १७ बलमा ४८ रन बनाए । घरेलु मैदान कोलकतामा भएको खेलमा ५ छक्का र ३ चौका प्रहार गरेका रसेलले बलिङ गर्दा भने ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । रसेल म्यान अफ दि म्याच भएको उक्त खेल कोलकताले २८ रनले जितेको थियो  ।

तेस्रो खेल: दिल्लीविरुद्ध ६२ रन, १ विकेट

दिल्लीमा भएको खेलमा कोलकताले दिल्ली क्यापिटल्सविरुद्धको खेल रुपर ओभरमा हारे पनि रसेलले भने उत्कृष्ट प्रदर्शन गरे । ‍टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा १८५ रन बनाउदा रसेलले भने ६२ रन बनाए । २८ बल खेलेका उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए । बलिङमा भने उनले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । सुपर ओभरमा उनले ३ बलमा एक चौकाको मद्दतले ४ रन बनाएका थिए ।

चौथो खेल: बैंगलोरविरुद्ध ४८ रन, एकै ओभरमा ४ छक्का

प्रतियोगिताको ४ वटै खेलमा हार बेहोरेको रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जीतका लागि कोलकतासामु २ सय ६ को विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जीत नजिक पुगिसकेको बैंगलोरको खेलमा रसेल बाधक बन्यो । १३ बलमा ४८ रन बनाएका रसेलले आफ्नो पारीमा ७ छक्का र १ चौका प्रहार गरे । अन्तिम ११ बलमा २९ रन आवश्यक रहेको अवस्थामा रसेलले १९‌औं ओभरमा ४ छक्का र १ चौका प्रहार गरेका थिए । रसेल उक्त खेलमा पनि म्यान अफ दि म्याच भए ।

विशेष