कला साहित्य साहित्य आज पर्यटन समाज

फेवाताल किनारमा त्यो रात

फेवाताल किनारमा त्यो रात
  • कृष्ण आचार्य

राति ८ बजे फेवाताल किनारको फुटट्रयाकमा हिँडिरहेको थिएँ । त्यहाँ रहेका झन्डै दर्जन विश्रामकक्षमध्ये कुनै एकमा बस्ने जमर्को थियो । तर, सबै भरिभराउ । एक्लै किनारमा बसेर फेवाताललाई नियाल्ने धोकोमा कत्रो तुषारापात ! मन खिन्न भयो । खुला आकाशमुनी बस्ने अवस्था थिएन । पुसको चिसोमा सितले कहाँ दया देखाउँछ र ?

सबै विश्रामकक्ष नियालिसकेको थिएँ । प्रायमा किशोर–किशोरी एकअर्काको अंगालोमा बेरिएर बसेका थिए । केहीमा भने युवा र युवतीको आ–आफ्नै समूह थियो । उनीहरुप्रति मैले दुई धारणा बनाएँ । पहिलो, उनीहरु शैक्षिक यात्राका लागि पोखरा आएको हुनुपर्छ भन्ने र दोस्रो घुम्न आएका वा स्थानीय प्रेमी–प्रेमिका अथवा श्रीमान्–श्रीमती हुनुपर्छ भन्ने । तर, नियाल्दा श्रीमान् श्रीमती कम र प्रेम जोडी नै बढी देखिन्थे ।

झन्डै १० मिनेट अधेरी रातको फेवाताल र त्यस किनारमा दाउरा बालेर सेकुवा पोलिरहेका होटलेहरुको तस्बिर कैद गर्नमा नै बित्यो । नजर भने विश्रामकक्ष तिरै थियो । कोही उठ्ला र बस्न पाउँला भन्ने आशमा ।

नभन्दै प्रतिक्षाको घडी समाप्त भयो । केटीहरुको एउटा समूहले मेरा लागि स्थान खाली बनाइदियो । म हतारहतार गएर खाली विश्रामकक्षमा आफ्नो कब्जा जमाएँ । तर, मेरो इच्छा र चाह भने फेरिएको थियो । फेवाताल पढ्न र महसुस गर्न गएको म, अब त्यो पक्षमा थिइनँ । ध्यान मेरो अगाडि–पछाडि एकअर्काको अंगालोमा बेरिएका र ओठहरु जोडिरहेका प्रेम जोडिमा थियो ।

हुन त काठमाडौंमा यस्ता दृश्य कैयन पटक देखिसकेको छु । फेवाताल किनारमा पनि पहिलोपटक यस्तो चित्र देखेको होइन । जतिपटक पोखरा जान्छु, म यी दृश्यबाट परिचित भएरै फर्कन्छु । तर, कहिल्यै उनीहरुलाई गहिरो अध्ययन गर्ने इच्छा जागेन । जसरी यसपटक जागेको छ ।

मध्य रातमा फेवाताल किनारमा प्रेम साट्ने उनीहरु भाग्यमानी भएको ठहरसहित म आफैलाई धिक्कारिरहेको छु । मसँग पनि कोही साथमा भइदिएको भए ? मन फेवातलबाट आइरहेको बतासे सिरेटोसँगै रोमाञ्चित छ । तर, मलाई मीठो भ्रममा तरंगित भएर बहकिनु थिएन । बरु रमाउनु थियो अर्कैको प्रेम सन्तुष्टीमा । 

म उनीहरुका हरेक गतिबिधि नियालिरहेको थिएँ, टोलाइरहेको थिएँ । त्यत्तिकैमा दुई युवती आएर मै बसेको विश्रामकक्षमा बिराजमान भए । दुवैले पालैपालो मलाई नियाले अनि आफ्नै धुनमा गफिन थाले । थाइकट कपाल भएकी अन्दाजी १९ वर्षीया एक युवतीले हाते झोलाबाट केही निकाली । क्यान वियर रहेछ । मलाई हेर्दै दुवैले पिए । अर्की अन्दाजी २२ वर्षीया युवतीले चुरोट सल्काई । चुरोट पनि पालैपालो दुवैले पिए । धुवा फैलिएर मसम्म आइपुग्यो । उनीहरु पहिलोपटक चुरोट पिइरहेका छन् या भर्खरै पिउन थालेका हुन्, मैले अनुमान लगाएँ । किनकी चुरोट पिउने उनीहरुको तालमेल कत्ति मिलेको थिएन । अर्को चुरोट सल्काउँदासम्म उनीहरुले चुरोटलाई कम र चुरोटले आफूले आफूलाई बढी पिइरहेको थियो । फेरि सबै धूवाँ बाहिर उडिरहेको थियो, कति चुरोटको ठूटाबाट त कति उनीहरुको मुखबाट ।

उनीहरु ब्वाइफ्रेन्ड र धोकाको कुरा गरिरहेका थिए । सानो स्वरमा बोलेकाले मैले राम्रोसँग सुनिरहेको थिएन । कान ठाडो भने पारिरहेँ । २२ वर्षीया युवतीले ‘तँलाई धोका दिएर त्यसले ठीक गरेन’ भनेको मसिनोगरी सुनियो । १९ वर्षीया युवती भनिरहेकी थिई, ‘मलाई बाँच्नै मन छैन यार ।’ बल्ल मैले चाल पाएँ उनीहरु ‘गम’ मेट्नका लागि रक्सी र चुरोट पिइरहेका छन् भन्ने ।

हामी बसेको भन्दा दुई स्टेप अघिल्लो विश्रामकक्ष खाली भइसकेको थियो । उनीहरु त्यतै सरे । मेरो मनमा विभिन्न प्रश्नहरु खेल्न थाले । फेरि एकपटक अघिल्लो विश्रामकक्षमा चुम्बन गरिरहेको जोडितर्फ नियालेँ । मनमनै आफैसँग प्रश्न गरेँ, ‘भोलि ऊ पनि यसैगरी यहाँ आउने छे अनि वियर र चुरोटसँग विछोडको पीडा साट्नेछे ।’ फेरि कामना गरेँ, ‘तर, यस्तो नहोस् । उनीहरुको प्रेम सफल होस् ।’

फेवाताल किनारमा बसेर पहिलोपटक मुड अफ भइरहेको थियो । रातमा फेवाताललाई महसुस गरेर केही लेखुँला भनेर गएको थिएँ । तर, मन र मस्तिष्क दुवैमा चक्काजाम भइदियो । उसलाई कसले र के कारणले धोका दियो ? मनमा यही कुरा खेल्न थाल्यो । के ऊ साच्चीकै मर्छे त ? प्रश्नमाथि प्रश्न खेलिरहेका थिए । धेरैबेर त्यहाँ बस्न मन लागेन । उठेर होटलतिर लागेँ ।

बाटोमा त्यसैगरी हात समाएर हिँडिरहेका कैयौँ जोडी भेटिए । अरुबेला पनि नदेखेको होइन । तर, यसपटक भने उनीहरुको अनुहारमा पनि उही १९ वर्षीया युवतीको तस्बिर पाएँ । एकोहोरिँदै कतिबेला होटलको कोठामा पुगिसकेछु । सुत्नुअघि निस्कर्ष निकालेँ, ‘हुन त आजभोलि यस्ता तस्बिर जताकतै छरिएर रहेका छन् ।’


यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।

फेवाताल

विशेष