सेनाको वैशाखी नटेकी मलाई कारबाही गरे हुन्छ (भिडियोसहित)
नेपालआजका नियमित स्तम्भकार डा. प्रेमसिंह बस्न्यातले गलत कुरालाई ढाकछोप गर्ने बानी परेकाहरुले आफ्नो चरित्रहत्या गन खाजेको दावी गर्नुभएको छ । नेपालआजमा उहाँको स्तम्भ ‘स्ट्रेट फरवार्ड’मा बोल्दै आफूलाई कारबाही गर्ने बेकारको हल्ला चलाइएको स्पष्ट पार्नुभएको छ । उहाँले आफूलाई सैनिक ऐनले छुन नसक्ने बताउनुभयो । आफू अरु नागरिक सरह भएका कारण सरकारले सेनालाई वैशाखी बनाएर आफूमाथि प्रहार गर्न छाड्नु पर्ने बताउनु भयो । प्रस्तुत छ उहाँसँग भएका कुराकानीको सारः
तपाईंलाई नेपाली सेनाले कारबाही गरेको कुरा साँचो हो ?
मविगतमा नेपाली सेनामा काम गरेको पूर्वसैनिक हुँ । मैले नेपाली सेना, देश र सार्वभौमसत्तालाई सधै सम्मान गर्दै आएको छु । मलाई सेनाले कारबाही गर्न पनि सक्दैन । मैले गलत बोले भने मलाई सरकारले कारबाही गर्नुपर्छ । सेनाको बैशाखी टेकेर मलाई कारबाही गर्र्न सरकारले सक्दैन । सरकारको तागत छ भने मलाई सेनाको वैशाखी नटेकी कारबाही गरेर देखाओस् । मलाई सरकारको डर मान्ने अवस्था छैन । मलाई कसैले, मेरा जेष्ठहरुले कुनै सुझाव दिए भने म मानिदिन सक्छु । मेरा शुभेच्छुकको सुझावबमोजिम केही दिन नबोलेको मात्रै हुँ । ओली र रक्षामन्त्रीको डरले नबोलेको होइन ।
रक्षामन्त्रालयमार्फत सेनाले कारबाही गरेको भन्ने खबर झुठ हो । मलाई कुनै कारबाही भएको छैन, मैले नै उल्टो कारबाही गरेको छु । म नेपाली सेनाको पक्षमा बोल्दै आएको छु । मैले सेनाको समर्थनमा बोल्दा मलाई तारो बनाइएको हो । मैले केही कुरा प्रधानमन्त्रीकै बारेमा बोले । सरकारको स्वीकृति नलिइ होली वाइन र एक करोडको पुरस्कार प्रधानमन्त्री ओलीले लिए । १६७४ मा कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले क्रिष्चियनहरुलाई भित्र्याएका रहेछन् । धर्मनिरपेक्ष मुलुकमा प्रधानमन्त्रीले क्रिष्चियनलाई भित्र्याए । सुरक्षापरिषद छलेर सेना परिचालन प्रधानमन्त्रीले गर्नु हुँदैन भनेको थिएँ । सेनाको दुर्घटना नहोस भनेर बोलेको हो । होलीवाइन खाएर मैले देशविरुद्ध बोलेको छैन । म प्रधानमन्त्रीलाई सम्माननीय भन्दिनँ । किनभने मुलाअनुसार मुख हुन्छ । भांग्राको टोपीलाई गुहेँलीको फूल मिल्दैन । यो अडान मेरो छँदैछ । करिश्मा, शान्ता चौधरीलाई एसइइ दिन लाज मान्नु भएन । अब हाम्रा देशका नेताहरुले लाज नमानी एसइइ दिनु पर्छ । टुप्पाबाट पलाएकाहरुले हामीलाई मुख बन्द गर्न खोज्ने ? सके छातीमा गोली ठोके हुन्छ ।
तपाईंलाई नेपाली सेनाले सचेत पत्र पठाएको होइन ?
होइन । मलाई सेनाले सचेत गराउने पत्र किन पठाउँछ ? सेवाबाट अलग भएपछि छ महिनासम्म हामीलाई सैनिक ऐन लाग्छ । त्यसपछि हामी नागरिकसरह हुन्छौं । यसकारण मलाई कारबाही गर्ने हो भने सरकारले गर्ने हो । मलाई नेपाली सेनाले केही पनि कारबाही गर्न सक्दैन । सात आठ दिनअघि मेरो पेन्सन काट्ने हल्ला चलाइयो । मैले राष्ट्र विप्लव गरेँ भने मेरो सर्वश्व हरण गरे हुन्छ । होली वाइन खानेहरुलाई मैले टट्टु भनेँ । के मैले महान भन्नु पर्ने थियो ? मैले फूर्ति लगाएको होइन । तर भएका सत्य कुरालाई मैले जसरी अर्को कुनै सेनाका पूर्वअधिकारीले बोलेको देखेको छैन । अब रक्षामन्त्री इश्वर पोख्रेलको कुरा गर्छु ।
इश्वर पोख्रललाई पनि म माननीय भन्नेवाला छैन । उहाँका बारेमा मैले चार कुरा भनेको छु । यिनले विमस्टेक स्वीकृत गराए । पछि ओली सरकारले क्यान्सिल गर्यो । त्यो विषयमा सेना आलोचित भयो । यिनी मौन बसे । अमेरिकी मन्त्री आएर यिनको टेबुलमा चीनविरोधी कुरा गरे । त्यसमा पनि यिनी मौन बसे । अहिले सोझै सेना प्रधानमन्त्रीले परिचालन गर्न मिल्ने कानुनी प्रबन्ध मिलाउन खोज्ने पनि यिनै हुन् । राष्ट्रिय सुरक्षा नीति बनाएर नेपालमा भारतको खतरा औल्याए । तर यस्ता कुरा गोप्य हुन्छन् । जुन गोप्यता उहाँहरुले राख्नु भएन । क्याविनेटको निर्णय गरेर सेनाका पदाधिकारीहरुलाई मर्यादाको तल्लो तहमा पुर्यायो । यिनी अभिभावक भएर गरेको यहि हो ? यो कुरा मैले बोलेकै हो ।
तपाईंले सिके राउतको आलोचना गरेर विप्लवको पक्ष लिनु भएको हो ?
विप्लव समूह भनेर चिनिने नेत्रविक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्धलगाएर समस्याको समाधान हुँदैन भनेको हुँ । तर उनीहरुको समूहले हतियार उठाउने, मान्छे मार्ने, बम पड्काउने कामको घोरविरोधी हुँ म । सिके राउतसँग अर्को देशसँग झै गरी सम्झौता गर्नु हुँदैन थियो भन्नेमान्छे मै हो । एउटा सिडिओले गर्नुपर्ने सम्झौता केपी ओलीले गरे । त्यसको विरोध गरेको हुँ । स्वतन्त्र मधेस भन्ने एजेन्डालाई सम्बोधन भयो भन्ने मेरो तर्क हो । विप्लवले देश नै खान लागेको होइन । यो राजनीतिक समस्या हो । पोलिटिकल्ली सल्भ गर्नुपर्छ । पिँजडामा राखेको मैना थियो सिके राउत । हाम्रा प्रधानमन्त्रीले त्यही पिँजडाको सिकेलाई जंगलबाट समातेर ल्याएँ भन्छन् ।
मेरो देशको सीमा मिच्दा म बोल्छु । रक्षामन्त्री बोल्दैनन् । प्रधानमन्त्री बोल्दैनन् । अनि मेरो कुरा पनि उहाँहरुलाई बिझाउने रहेछ ।
तपाईंहरुले सपथ लिएर सेना बन्नु भएको मान्छे । सेवामा नहुँदा पनि गलत गर्दिनँ भनेर सपथ लिनु भएको बिर्सनुभयो ?
मैले ४१ सालमा शाही नेपाली सेनाको कसम खाएको हो । अहिलेको यो गणतन्त्रको कसम खाएको होइन । मेरो कसम नोकरीभर हुन्छ । देवताको नाममा कसम नखाने मेरो नेताहरुले जनताको नाममा सपथ खाएका छन् । जनताको नाममा सपथ पनि खाने, होलीवाइन पनि खाने, वाइडबडी पनि खाने गर्न मिल्छ ? मैले शाही नेपाली सेनाअन्तर्गत राजाको नुनको सोझो गर्न कसम खाएको हो ।
मैले पिपल पाते तरिकाले सेना परिचालन गर्न पाइँदैन भनेको हो । केपी ओली पचास वर्षका लागि सत्तामा आएका होइनन् । उहाँकै पार्टी भित्रका मानिसहरु पनि भारतीय सेना नेपालमा ल्याएर राजालाई पक्राउ गरौं भन्दै हिँडेका पनि छन् । यस्ता नेता छन् नेपालमा । नेपाली सेनाको जरोबलो ढाल्न खोज्नेहरुले प्रपोगण्डा गरिरहेका छन् । नेपाली सेनालाई युज र मिसयुज गर्न खोजिएको छ ।
नेपाली सेनाका पूर्वसेनापति राजेन्द्र क्षत्री अर्बौ रुपैयाँ अनियमिततामा चुर्लुम्म डुब्नु भएको रहेछ । यो विषयमा तपाईं किन बोल्नु हुन्न ?
मैले यसबारे पनि धेरै ठाउँमा धेरै पटक बोलिसकेको छु । त्यो बेलाका प्रधानमन्त्री, रक्षामन्त्री, रक्षासचिव सबैलाई तानेर कारबाही गर्नुपर्छ । मोज र भोज गर्ने बेलामा मिलेर खाने अहिले सेनालाई मात्रै घानमा हाल्न हुँदैन । सबैको खोजी गर्नुपर्छ ।
सेनालाई विकासे काममा लगाउनु ठीक हो ?
मैले यसबारेमा पटक पटक भनेको छु । विकासको काम जनताले पाउनु पर्छ । अरु मानिसहरुले रोजगारी पाउनु पर्छ । विकासे काम सेनाले गर्ने, बाँकी युवा खाडी जाने क्रम रोकिनुपर्छ । किनभने विकास र रोजगारीमा नेपाली जनताको पहुँच हुनुपर्छ । सेनाले विकासे काम पनि गर्छ । तर विशेष अवस्थामा मात्रै हो । देशमा मन्त्री सांसदहरु नै ठेकेदार छन् । सबै मिलेर ठेक्क्को पैसा खान्छन् । एक वर्षको काम २० वर्षमा पनि गरिसक्दैनन् । यो थिती बन्द हुनुपर्छ ।