बैंगलोर छैटौ खेलमा पनि पराजित, दिल्लीले ४ विकेटले हरायो
काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले लगातार छैटौ हार बेहोरेको छ । दिल्ली क्यापिटल्सले ४ विकेटले पराजित गरेसँगै बैंगलोरको दोस्रो चरणमा प्रवेश नहुने सम्भावना लगभग निश्चित भएको छ ।
बैंगलुरुको एम चिन्नास्वामी रंगशालामा नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु भएको खेलमा टस हारेर बैंगलोरले पहिला ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा बैंगलोरले १ सय ४९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ४१ रन बनाए । मोएन अलिले ३२ रन बनाउदा अक्षदीप नाथले १९, एबी डि भिलियर्सले १७ तथा मार्कुस स्टोइनिसले १५ रन बनाए । अन्य ब्याट्सम्यानले भने खासै राम्रो प्रदर्शन गर्न सकेन । दिल्लीका कागिसो रबाडाले ४, क्रिस मोरिसले २ तथा सन्दीप लामिछाने र अक्सर पटेलले समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको दिल्लीले ७ बल बाँकी छदैँ ४ विकेटले खेल आफ्नो पक्षमा पार्यो । टोलीलाई जीत दिलाउन कप्तान श्रेयस ऐयरले ६७ रन बनाए । पृथ्वी शाले २८, कोलिन इन्ग्रामले २२ तथा रिसभ पन्तले १८ रन बनाएका थिए । बैंगलोरका नवदीप शैनीले २ विकेट लिए भने टिम साउदी, पवन नेगी, मोहम्मद सिराज तथा मोएन अलिले समान १/१ विकेट लिए ।