खेल

आइपिएल : जोसेफको कीर्तिमानी प्रर्दशनमा मुम्बईकाे रोमाञ्चक जित

आइपिएल : जोसेफको कीर्तिमानी प्रर्दशनमा मुम्बईकाे रोमाञ्चक जित

अल्जारी जोसेफले ६ विकेट लिएपछि इण्डियन प्रेमियर लिग क्रिकेटको पछिल्लो खेलमा मुम्बई ईण्डियन्सले सनराईजर्स हैदरावादलाई ४० रनले पराजित गरेको छ । १ सय ३७ रनको लक्ष्य पछ्याएको घरेलु टोली हैदरावाद १७ ओभर ४ बलमा ९६ रनमा अलआउट भयो ।

 

३ जना शून्य रनमा आउट भएको हैदरावादको इनिङ्समा दीपक हुडाले सर्वाधिक २० रन बनाए । आईपीएल क्रिकेटको इतिहासमै सर्वाधिक उत्कृष्ट बलिङ गर्दै वेष्ट इण्डिजका जोसेफले ३ ओभर ४ बलमा मात्र १२ रन खर्चेर ६ विकेट लिए । पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । किरण पोलार्डले २६ बलमा नटआउट ४६ रन बनाएपछि मुम्बई सम्मानजनक योगफल बनाउन सफल भयो ।  

 

शनिबार भएको अर्को खेलमा चेन्नई सुपर किङ्सले किङ्स एलाभेन पञ्जाबलाई २२ रनले पराजित गर्‍यो । १ सय ६१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो । ७ रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै लोकेश राहुल र सरफराज खानले तेस्रो विकेटका लागि १ सय १० रनको साझेदारी गरेपनि जित भने दिलाउन सकेनन् ।

 

खान ६७ र राहुल ५५ रनमा आउट भए । अरुले दोहोरो अंक छुन सकेनन् ।  चेन्नईले भने निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । फाफ डु प्लेसिसले ५४ रन बनाउँदा क्याप्टेन महेन्द्र सिंह धोनी ३७ रनमा नटआउट रहे ।  जितपछि चेन्नई ८ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

 

समान ६ अंक भएका हैदरावाद, कोलकात्ता, मुम्बई र पञ्जाब क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।  आईपीएलमा आज दिल्ली क्यापिटल्स र रोएल च्यालेन्जर्स बैंङ्लोर अपरान्ह सवा ४ बजे तथा राजस्थान रोएल्स र कोलकात्ता नाईट राईडर्सबीच राती सवा ८ बजे प्रतिस्पर्धा हुनेछ ।   

आइपिएल

विशेष