Technology

एप्पलले फेरि आइफोनको मूल्य ह्वात्तै घटायो

एप्पलले फेरि आइफोनको मूल्य ह्वात्तै घटायो

एजेन्सी । अमेरिकान मोबाइल फोन निर्माता कम्पनी एप्पलले पुनः मोबाइल फोनको मूल्य घटाएको छ। समाचारहरूमा जनाइए अनुसार एप्पलले आधिकारिक चिनियाँ अनलाइन स्टोरमा आफ्ना केही महत्वपूर्ण उत्पादनको मूल्यमा झन्डै ६ प्रतिशतले कटौती गरेको हो । यो मूल्य कटौती गरिएका उत्पादनहरूमा आइफोन, आइप्याड, म्याक एयरपोड रहेको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

 

चीनमा भएको कर परिवर्तनको प्रतिक्रियास्वरूप यो कटौती गरिएको हो । नयाँ परिवर्तनले एप्पलजस्ता म्यानुफ्याक्चररलाई भ्याट कम गराउने काइसिनले जनाएको छ । २०१८ को चौथो त्रैमासिक अवधिमा कम्पनीले आम्दानीमा ५ देखि ९ अर्ब डलरसम्मको गिरावट आएको बताएको केही महिनापछि यो कटौती गरिएको हो । चीन, हङकङ ताइवानमा आइफोनको माग र बिक्री दुवै ओरालो लागेपछि एप्पलको आम्दानीमा पनि गिरावट आएको हो ।

 

“यदि हाम्रो नतिजामा हेर्नुहुन्छ भने आइफोनबाट ग्रेटर चाइना आम्दानीमा १०० प्रतिशतको गिरावट आएको छ,” एप्पलका सीईओ टिम कुकले जनवरीमा सीएनबीसीलाई बताएका थिए । यो मूल्य कटौती एप्पलको वेबसाइटमा हेर्न सकिन्छ । सुरुवाती तहको आइफोन एक्सआरको मूल्य ६ हजार १९९ युआन पर्छ । यो मार्च २९ को तुलनामा ४.६ प्रतिशतले कम हो । एप्पलको हाई–इन्ड आइफोन एक्सएस र आइफोन एक्स एस म्याक्स प्रत्येकको मूल्यमा ५ सय युआनले कटौती गरिएको छ । 

 

यसअघि सन् २०१८ को अन्त्यतिर पनि आइफोनले आफ्ना महत्त्वपूर्ण मोबाइल फोनहरूको मूल्य घटाएको थियो। एप्पलले चीनमा आफ्नो च्यानल साझेदारीका लागि केही आइफोनको मूल्य ८०० युआन अर्थात् ११८ अमेरिकी डलरसम्म घटाएको थियो। चीनमा आइफोन खरिदमा आएको कमीका कारण देखिएको समस्यालाई बुझ्दै एप्पले उक्त कदम उठाएको सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

एप्पल वल्र्ड मोबाइल आइफोन एप्पल

विशेष