ताजा खबर

गिद्धले पाएन फूलबाट बच्चा कोरल्ने काममा सफलता

गिद्धले पाएन फूलबाट बच्चा कोरल्ने काममा सफलता

चितवन। गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अण्डा (फूल)बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन। जसका कारण यस विषयमा स्वदेशी र विदेशी विज्ञले अनुसन्धान गरिरहेका छन्।

 

चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ। निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा प्रजनन् केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन्।

 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हालसम्म त्यहाँ रहेका गिद्धबाट ६८ वटा अण्डा पारेर १८ वटा बच्चा कोरलिएका छन्। विसं २०७१ मा पाँच वटा अण्डा पारेर एउटा बच्चा कोरलिएको थियो। विसं २०७२ मा सात अण्डा पारे पनि बच्चा कोरल्न सकेको थिएन। विसं २०७३ मा १५ वटा अण्डाको नौ बच्चा, विसं २०७४ मा २१ वटा अण्डाको सात बच्चा कोरलिएकामा विसं २०७५ मा भने २० वटा अण्डाबाट दुई वटा बच्चा मात्रै कोरलिएका थिए।

 

स्थापनाको समयमा करीब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन् केन्द्रमा राखिएको थियो। त्यही हुर्किएका गिद्धमध्ये हालसम्म २० वटालाई प्रकृतिमा छाडिएको छ। सन् २०१७ मा सात पोथी र सन् २०१८ मा ८ बच्चा, तीन पोथी एवं दुई भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको हो। सन् २०१९ मा छ बच्चा, चार पोथी र तीन भाले गरी १३ वटालाई प्रकृतिमा छाड्नका लागि रेस्टुरामा राखिएको छ। हाल प्रजनन् केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन्।

 

नेपाल पक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले यस वर्षको प्रजननको समस्या देखेर आफूहरु आश्चर्यमा परेको बताइन्। यससँगै गम्भीररुपमा अनुसन्धान शुरु गरिएको उनले बताए। अघिल्लो वर्षको तुलनामा गत वर्ष के–कस्ता कमीकमजोरी र होहल्ला (डिस्टर्ब) भएका थिए त्यसको अध्ययन भइरहेको उनले बताए।

 

 शुरुआती वर्षमा लिङ्ग पहिचान गरी भालेपोथीको अवस्थाका बारेमा अध्ययन गरेर छुट्याएर राखिएको थियो। उनका अनुसार लिङ्गअनुसार नमिलेका गिद्धलाई प्रकृतिमा छाडिएका हुन्। प्रजनन् केन्द्र हेर्दै आएका राष्ट्रिय प्रकृति संरक्षण कोषका डा विकल्प कार्कीले विदेशी विज्ञसँगसमेत यस विषयमा परामर्श गरिरहेको बताए। उनले कसरी बच्चा कोरल्ने दर बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए।

विशेष