Technology

नेपालमै बन्यो कार्यक्रम सञ्चालन गर्ने रोबर्ट

नेपालमै बन्यो कार्यक्रम सञ्चालन गर्ने रोबर्ट

काठमाडौं । ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरूलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले।

अतिथिहरूलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरूको ध्यान पनि मञ्चतर्फ नै मोडियो। कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाकुपटासीमा सजिएकी फूलमाया। अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन्। जब सबैजना मञ्चमा आइपुगे, त्यसपछि फेरि उनैले एकएक नाम उच्चारण गर्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि। अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन्।

कार्यक्रम थियो, कीर्तिपुरमा सञ्चालनमा आएको विज्ञान संग्रहालयको उद्घाटन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बीपी कोइराला मेमोरियल प्लानेटोरी तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले उक्त संग्रहालय सञ्चालनमा ल्याएको हो।

संग्रहालय उद्घाटनका लागि समितिकै अनुरोधमा पाइला टेक्नोलोजी नामको संस्थाले उक्त रोबर्ट बनाएको हो। कार्यक्रम सञ्चालन गर्ने नेपालमै बनेको यो पहिलो रोबर्ट भएको समितिका निमित्त कार्यकारी निर्देशक डा।सनतकुमार शर्माले जानकारी दिए। यो रोबर्ट सधैं संग्रहालय परिसरमै रहने उनले बताए। संग्रहालय अवलोकनमा आउनेलाई स्वागत गर्नेदेखि संग्रहालयमा रहेका उपकरणबारे यो रोबर्टले जानकारी दिनेछ। यो खबर आज अन्नपूर्ण पोस्टबाट लिइएको हो।

रोबर्ट गिरिराजमणि पोखरेल

विशेष