खेल

धोनीको टिमलाई १ रनले हराउँदै मुम्बई बन्यो चौथो पटक च्याम्पियन

धोनीको टिमलाई १ रनले हराउँदै मुम्बई बन्यो चौथो पटक च्याम्पियन

काठमाडौं । चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ । यो जीतसँगै उसले सर्बाधिक ४ पटक आइपीएलको उपाधि हात पार्न सफल भयो । मुम्बईको जीतमा लसिथ मलिंगा नायक सावित भए । उनले अन्तिम ओभरको छैठौं बलमा विकेट लिँदै टिमलाई जीत दिलाए । अन्तिम बलमा चेन्नईलाई जीतका लागि २ रनको आवश्यकता थियो । उक्त बलमा मलिंगाले चेन्नईका सार्दुल ठाकुरलाई एल्बीडब्लू आउट गर्दै उपाधि मुम्बईलाई दिलाए ।

 

टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो । उसका लागि किरण पोलार्डले सर्बाधिक नट आउट ४१, क्विन्टन डिककले २९, इशान किसनले २५, हार्दिक पाण्ड्याले १६, कप्तान रोहित शर्मा, सूर्यकुमार यादवले १५–१५, कुणाल पाण्ड्याले ७ रन बनाए । बलिङमा चेन्नईका दीपक चाहुरले ३, इमरान ताहिर र सार्दुल ठाकुर २–२ विकेट लिए । 

 

१५० रनकाे लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । उसका लागि शेन वाट्सनले ८० रन बनाए पनि टिमलाई उपाधि दिलाउन सकेनन् । यस्तै, फाफ डुप्लेसीले २६ र डीजे ब्रावोले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकसमेत बटुल्न सकेनन् । बलिङमा मुम्बईका जसप्रित बुमराहले २, कुणाल पाण्ड्या, लसिथ मलिंगा र राहुल चहरले एक–एक विकेट लिए ।

चेन्नई भर्सेस मुम्बई आइपीएल

विशेष