इन्टरनेटको प्रयोगले छोराछोरी बिग्रिने होइन झन तिखारिने हो
कम्प्युटर यो युगको कलम हो । जति प्रविधिमैत्री हुनसक्यो, जीवन उति सरल हुन्छ । एउटा समय थियो– जग्गा, जमिन, घरपालुवा पशुपन्छी, सुनचाँदी सम्पतिभित्र पर्दथ्यो । अहिले युग फेरिएको छ । एउटा एप्स बनाउनुस् , उपभोक्ताले रुचाएको खण्डमा चौबीस घण्टामा नाम र दाम तपाईंको ढोका ढकढकाउन आइपुग्छ ।
विकास र समृद्धिका लागि सबैभन्दा उपयुक्त सूत्र हो प्रविधिको उच्चतम प्रयोग । प्रविधिको उच्च प्रयोगबाट ज्ञान हासिल गरी जीवन र जगतलाई सहज र सरल बनाउनु नै विकास र समृद्धि प्राप्त गर्नु हो ।
सरकारले विकास र समृद्धिलाई मूल लक्ष्य बनाएको छ । अर्कातिर विज्ञान र प्रविधिलाई त्यत्तिकै उपेक्षा पनि गरेको छ । विज्ञान र प्रविधिलाई बेवास्ता गरेर २१औं शताब्दीमा गुणस्तरीय शिक्षा र ज्ञान हासिल सम्भव छैन् । यसका लागि विद्यालयस्तरदेखि नै प्रविधि मैत्री अध्ययन र सिकाईलाई प्राथमिकतामा राख्नु पर्दछ ।
व्यवस्थापन विज्ञ प्रमेश केसी भन्छन्, ‘ विज्ञान र प्रविधि मन्त्रालय छ, तर त्यो सरकारको प्राथमिकता छैन । न त्यहाँ कोही मन्त्री बन्न चाहन्छन्, न कोही सचिव नै जान चाहन्छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को हालत पनि त्यस्तै छ । सरकारले यी क्षेत्रमा लगानी र रुचि बढाउनुपर्छ । ’
">
‘अझ भन्ने हो भने नेपालमा विद्यालयस्तरदेखि नै प्रविधिबाट शिक्षा दिन जरुरी छ । अब विद्यार्थीहरुले कम्प्युटरबाट पढ्ने लेख्ने गर्नुपर्छ । इन्टरनेटबारे जानकारी लिनुपर्छ । इन्टरनेटबाट पढ्नुपर्छ । यसले उनीहरुको क्षमता अभिवृद्धिदेखि अध्ययन र अनुसन्धानको दायरा पनि फराकिलो हुन्छ । विश्वका अन्य राष्ट्रका विद्यार्थीसंग प्रतिष्पर्धा गर्ने सहज हुन्छ ।’ केसी बताउँछन् ।
‘इन्टरनेटको प्रयोगले केटाकेटी बिग्रिन थाले भन्नु गलत हो । विद्यालयदेखि घरमा पनि बालबालिकालाई इन्टरनेटको प्रयोग गर्न दिनुपर्छ ।’ उनी थप्छन्– ‘बच्चासंगै अभिभावकले पनि सिक्नुपर्छ । इन्टरनेटमा के सिक्न पाइन्छ ? त्यो नभएर के सिक्न पाइन्न भन्ने हो । कोर्स मात्र नभई अतिरिक्त क्रियाकलाप सिक्ने सिकाउने गर्न सके सीपको विकास हुन्छ ।’
उनी भन्छन््, ‘ धेरै अभिभावकको गुनासो छ, छोराछोरी फेसबुक र युट्यूबमा मात्र अल्झिए । पढाई वर्वाद भयो । तर, त्यसो होइन । सामाजिक संजाल र इन्टरनेटको प्रयोगले नै बालबालिकाको सोचाई फराकिलो हुने हो ।’
‘इन्टरनेटका माध्यमबाट उसले अध्ययनका लागि थुप्रै विषयवस्तु प्राप्त गर्छ । आवश्यक सामग्रीका थुप्रै विकल्प भेट्छ । त्यहाँ उसले विषयवस्तुको छनोट, के उचित के अनुचित भन्ने विश्लेषण गर्ने मौका पाउँछ । अंग्रेजी भाषा बोल्ने र सुन्ने क्षमताको विकास हुन्छ । आफनो गृहकार्य गर्न गुणस्तरीय सामग्रीको प्राप्त हुनुकासाथै समयको पनि वचत हुन्छ । मनोरञ्जन पनि त्यहीं प्राप्त हुन्छ । यो त राम्रो कुरा हो नी । अलिकति अभिभावकले ध्यान दिनुपर्छ, कतै अनावश्यक भिडियो क्लिक हुने सम्भावना पनि रहन्छ । ’केसीको तर्क छ ।
">
विद्यालयदेखि नै बालबालिकालाई प्रविधिमार्फत शिक्षा दिन सरकारले ढिलो गर्नु हुँदैन । यसमा निजीस्तरबाट समेत पहल हुनुपर्ने तर्क गर्दै केसी भन्छन्, ‘ म लगायत पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले व्यक्तिगत तहमा यो प्रयास गरेका छौं । हामीले आफ्नै प्रयासमा भोजपुरका सामुदायिक विद्यालयमा ‘डिजिटल क्याम्पेन’ सुरु गरेका छौं । यो भनेको त्यहाँका सरकारी विद्यालयमा कम्प्युटरबाट पढाइ सुरु गर्नु हो । यसका लागि आवश्यक सबै विद्युतीय सामग्री हामीले उपलब्ध गराएका छौं । जिल्लाभर यो अभियान सफल भएपछि देशका अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना छ । ’
पछिल्लो समय सरकारी सेवामा अनलाइन सेवाको सुरुवात हुनु, मन्त्रिपरिषद् बैठक ‘पेपरलेस’ हुनु, प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरुमा ‘टेलीप्रम्पटर’ प्रयोग गर्नु लगायतका कुरा प्रविधिप्रतिको आकर्षण नै हो । प्रविधिमा देखा पर्नेे सामान्य त्रुटीलाई असफलताका रुपमा अथ्र्याउन नहुने केसीको तर्क छ ।