खेल

धोनीकाे टिमविरुद्ध आज सन्दीपले मौका पाउने सम्भावना कति? 

धोनीकाे टिमविरुद्ध आज सन्दीपले मौका पाउने सम्भावना कति? 

काठमाडौं । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५०औं खेलमा आज तीन पटकको उपाधि विजेता चेन्नई सुपर किंग्स र एक पटक पनि फाइनलमा पुग्न नसकेको दिल्ली क्यापिटल्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि चेन्नईको चितम्बरम रंगशालामा शुरु हुँदैछ । 

 

यो रंगशालामा अहिलेसम्म दिल्ली–चेन्नई ७ पटक आमनेसामने भएका छन् । जसमा चेन्नईले पाँच र दिल्लीले २ खेल मात्र जित्न सकेको छ । दिल्लीले चेन्नईमा अन्तिम पटक २०१० मा जीत दर्ता गरेको थियो । त्यसयता उसले चेन्नईलाई उसकै घरेलु मैदानमा हराउन सकेको छैन । दिल्ली–चेन्नईबीच १२औं संस्करणसम्म आइपुग्दा १९ पटक भिडन्त भएको छ । जसमा १३ म्याचमा चेन्नई र ६ खेलमा दिल्ली विजयी भएको छ । चितम्बरम रंगशालामा चेन्नईले शानदार प्रदर्शन गरिरहेको छ । पछिल्ला ५ खेलमा उसले एक म्याचमा मात्र हार बेहोरेको छ ।  

 

सन्दीपको सम्भावना कति?
दिल्ली क्यापिटल्समाआवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले चेन्नईविरुद्ध टिममा मौका पाउने सम्भावना न्यून छ । रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न नसकेकाले धोनीको टिमविरुद्ध सन्दीपले मौका पाउने सम्भावना न्यून भएको हो । त्यस खेलमा सन्दीपले ३ ओभरमा बिनाविकेट ३६ रन खर्चिएका थिए । यद्यपि, चेन्नईको मैदान स्पिनरका लागि उपयुक्त मानिन्छ । दिल्लीमा अमित मिश्रा र सन्दीप स्पिनरका लागि प्रमुख मानिन्छन् । यसकारण सन्दीपले टिममा मौका पाउन सक्छन् ।

 

यस्तै, बैंग्लोरसँग भएको खेलमा सन्दीपको टिम विजयी भएको हुँदा त्यही टोलीलाई नै आज पनि दिल्ली मैदान उत्रार्न सक्छ । यदि यसो भएमा सन्दीपले धोनीको टिमविरुद्ध बलिङ गर्न पाउने छन् । यो संस्करणमा चेन्नईसँगको पहिलो खेलमा सन्दीप मौका पाएका थिएनन् । उनले जारी आइपीएलमा ६ खेलमा ८ विकेट लिएका छन् । 

 

दुवै टिमलाई जारी सिजनमा ८–८ खेलमा जीत
जारी संस्करणमा दिल्ली र चेन्नईले १२–१२ खेलमा ८–८ जीत निकालेका छन् । यद्यपि, नेट रनरेटका आधारमा दिल्ली १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आज महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईलाई हराउँदै श्रेयस अय्यर कप्तान रहेको दिल्ली शीर्ष स्थानमै कायम रहन लालायित छ । यता चेन्नई पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेआवद्ध दिल्लीलाई उसकै मैदानमा पराजित गर्दै अंकतालिकाको पहिलो स्थानमा स्थानमा बस्न चाहन्छ ।

 

चेन्नईमा पहिला ब्याटिङ गर्नेलाई बढी जीत
चेन्नईको रंगशालामा अहिलेसम्म आइपीएलका ५४ खेल भएका छन् । जसमा पहिला ब्याटिङ गर्ने टिमले ३३ खेल जीतेको छ । बलिङ पहिला गर्ने टिमले भने मात्र २० खेल आफ्नो पक्षमा पारेको छ ।  

आइपीएल सन्दीप लामिछाने चेन्नई भर्सेस दिल्ली

विशेष