स्वास्थ्य संघीय समाचार प्रदेश ५

‘सञ्चारमाध्यमभित्रको विकृति अन्त्य गर्न विधेयक’

‘सञ्चारमाध्यमभित्रको विकृति अन्त्य गर्न विधेयक’

नारायणपुर। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले सञ्चारमाध्यमभित्र पछिल्लो समय मौलाएको विकृति अन्त्य गर्न मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याउनुपरेको बताएका छन् ।

 

सञ्चारमाध्यमलाई कसरी बलियो र शक्तिशाली बनाउने भन्नेमा सरकार सचेत रहेको भन्दै उनले मिडिया काउन्सिल विधेयकले सञ्चारमाध्यममा रहेको बेथिति अन्त्य गर्ने विश्वास व्यक्त गरे । दाङको घोराहीमा रहेको रेडियो मध्यमपश्चिमको १३औँ वार्षिकोत्सवका अवसरमा उनले स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन नसक्ने भएकाले प्रेसलाई बलियो बनाउन सरकार लागिपरेको बताए ।

 

‘मिडियालाई बलियो बनाउन राज्यले यो विधेयक ल्याएको हो, त्यसमा प्रेसलाई सङ्कुचनमा पार्ने कुनै बुँदाहरु छैनन्’, उनले भने, ‘के प्रेसमा बेथिति छैन ? सञ्चारमाध्यममा रहेको बेथिति हटाउन के गर्ने ?’ राज्य कमजोर भयो भने लोकतन्त्र अप्ठ्यारोमा पर्ने बताउँदै मुख्यमन्त्री पोख्रेलले जनता बलियो भए मात्रै राज्य बलियो र शक्तिशाली हुने बताए । लोकतन्त्रप्राप्तिका लागि प्रेसले विगतमा खेलेको भूमिका अतुलनीय रहेकाले राज्यले प्रेस स्वतन्त्रतामा कुनै आँच नपु-याउने गरी काम गर्ने बताए ।

 

प्रदेशमा विकास र समृद्धिको आधार निर्माण हुन थालेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले सात वटा प्रदेशमध्ये प्रदेश नं ५ अग्रस्थानमा आउने गरी काम गरेको बताए । उनले कानून निर्माण, आवधि योजना निर्माण, बजेट खर्च, कर्मचारी समायोजनमा सबैभन्दा अगाडि रहेको उल्लेख गरे ।

विशेष