भिडियो कभर स्टोरी अन्तरवार्ता पर्यटन

भ्रमण वर्ष २०२० को तयारी तीव्र, भारतीय र चिनियाँ पर्यटक पहिलो रोजाइमा (भिडियोसहित)

भ्रमण वर्ष २०२० को तयारी तीव्र, भारतीय र चिनियाँ पर्यटक पहिलो रोजाइमा (भिडियोसहित)

सरकारले आउँदो बर्ष २०२० लाई भ्रमण बर्षका रुपमा मनाउन ब्यापक तयारी गरेको छ । यसलाई राष्ट्रिय उत्सवका रुपमा सफल बनाउने सरकारको संकल्प छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस सम्बन्धी विभिन्न समिति गठन गरी आवश्यक तयारी गरिरहेको सह–सचिव तथा मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

प्रवक्ता उपाध्याय भन्छन्, ‘कम्तिमा २० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ । विभिन्न देशका पर्यटक आउने भएपनि भारत र चीनबाट बढी पर्यटक आउने हाम्रो अपेक्षा छ । हामीले पर्यटकको स्वागत, उनीहरुको बसोबास, खानपान, यातायात, सुरक्षा तथा खास अवस्थामा गर्नुपर्ने उद्दार लगायतका सबै विषयमा तयारी तीब्र पारेका छौं । ’

नेपालको पर्यटकीय आकर्षणको केन्द्र भनेकै भौगोलिक विविधता, कला, संस्कृति, रहनसहन र  प्राकृतिक सौन्दर्य भएकाले त्यसैलाई  पहिलो प्राथमिकता दिइएको छ । नेपाल हिमाल, पहाड, तराई सहितको भू–भाग भएकाले मौसम अनुकूल पर्यटकीय पूर्वाधार विकास गर्ने काम भइरहेको उपाध्यायले बताए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमको प्रयोग

प्रवक्ता उपाध्यायका अनुसार विभिन्न देशबाट पर्यटक तान्न अन्तर्राष्ट्रियरुपमै प्रचलित संचारमाध्यम (बीबीसी, सीएनएन) लगायतमा श्रव्य दृश्य सामग्री राखी प्रचारप्रसार गर्ने तयारी भइरहेको छ । यी प्रचार सामग्रीले मुलुकका पर्यटकीय गन्तव्यस्थल र यहाँका महत्वपूर्ण विशेषताबारे जानकारी प्रदान गर्नेछन् । साथै, नेपाल भ्रमणका लागि सुरक्षित  उपयुक्त राष्ट्र हो भन्ने सन्देश पनि प्रवाह हुनेछ ।

‘भ्रमण वर्ष सफल बनाउन प्रचारप्रसार, पर्यटकको व्यवस्थापन, पर्यटक गाइड, सुरक्षा लगायतका विषयमा नीजि क्षेत्रसंग सहकार्य गरी अघि बढ्ने छौं । हवाइ क्षेत्रले भ्रमण वर्षलाई सफल बनाउन के योगदान दिन सक्छ ? बस व्यवसायीले के गर्न सक्छन् ? होटल व्यवसायीले विशेष छुट दिने कुरा हुनसक्छ । यी विषयमा हाम्रो कुराकानी भइरहेको छ । ’ उपाध्यायले बताए ।

विमानस्थलको अवस्था

भ्रमण बर्षको आरम्भमै भैरहवा विमास्थल पूर्णरुपमा संचालनमा आइसक्ने छ । पोखरा विमास्थलको रन वे निर्माण भइसक्ने छ । आवश्यक पर्दा सो विमानस्थललाई उडान र अवतरणका लागि प्रयोगमा ल्याउन सकिने अवस्था हुनेछ ।

मुुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण मर्मत कार्य सकिएर पूर्ण संचालनमा आउने छ । बुटिक एयरपोर्टका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो स्वरुप ग्रहण गरिसक्ने छ ।  विमानस्थलको अवस्था यतिसम्म भएपछि विदेशी पर्यटकलाई मात्र होइन आन्तरिक पर्यटक र सर्वसाधारणका लागि समेत आवतजावतमा विशेष सुविधा पुग्ने छ ।

नेपाल वायु सेवा निगम नाफामा

प्रवक्ता उपाध्यायले नेपाल वायु सेवा निगम नाफामा रहेको दावी गरे । निगममा जे जति बेथिती छ त्यो व्यवस्थापन ठीक नभएर हो । हालसम्मको आँकडाले निगम घाटामा नभएपनि यसको झूर व्यवस्थापनका कारण अवस्था चाहिं राम्रो छैन ।

अब निगमलाई कि रणनीतिक साझेदार भित्र्याएर अघि बढाउनुपर्छ कि जनतासंगको साझेदारीका माध्यमबाट अघि लैजानुपर्छ । यो विषयमा छलफल भइरहेकाले चाँडै टुंगो लाग्ने छ । यो बाहेक अरु विकल्प केही छैन ।

उपाध्याय भन्छन्, ‘ तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घट्नामा परी निधन भएपछि  मन्त्रालय नेतृत्व विहीन जस्तो देखिएको छ । तथापी, काममा कुनै प्रभाव परेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफंैले निगरानीमा राखेको र राज्यमन्त्रीसमेत भएकाले मन्त्रालयको काम सुचारु ढंगले अघि बढेको छ, भ्रमण वर्षमा यसको असर पर्दैन । ’

सरकारले खरिद गरेका दुईवटा वाइडबडी जहाजको उडान क्षेत्र विस्तारबारे विभिन्न मुलुकसंग छलफल चलिरहेकाले यसले चाँडै गति लिने उपाध्यायको विश्वास छ । यस्तै, चीनबाट ल्याइएका जहाज समयानुकूल र जहाजको गुणस्तर अनुसार प्रयोग भइरहेको जानकारी उनले दिए ।

पर्यटक भ्रमण वर्ष २०२०

विशेष