कभर स्टोरी

पशुपतिको वेद विद्याश्रमको हातामा वडा कार्यालय, विद्यार्थी आन्दोलित

पशुपतिस्थित नेपाल वेद विद्याश्रमको जग्गामा वडा कार्यालय बन्ने भएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका  छन् । सार्वजनिक जग्गामा अतिक्रमण बढिरहेको चर्चा भइरहँदा विद्याश्रमको चारआना जग्गामा सरकारले वडा कार्यालय बनाउने निधो गरेको हो । विद्यार्थीहरुको विरोधबीच काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा नम्बर ८ को वडा कार्यालय भवनको शिलान्याश गरेका छन् । 
 
वेद विद्याश्रममा विद्यार्थीको धेरै चाप र त्यहीँभित्र आवासीय भवन पनि रहेकाले वडा कार्यालयले पढाईमा बाधा पुग्ने भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन् । दौरा सुरुवाल कोट र टोपी लगाएका विद्यार्थी नारा जुलुसमा उत्रिएका थिए । उनीहरुले कुनै हालतमा भवन बन्न नदिने उद्घोष गरे । विद्याश्रमले पशुपति विकास कोषलाई यसखाले अप्रिय निर्णय नलिन सुझाव दिएको विद्याश्रमका शिक्षक विष्णुप्रसाद पोखरेलले बताए ।  

 महानगरका प्रमुख शाक्यले आफ्नो गुरुयोजना लागू गर्दा पशुपति क्षेत्र विकास कोषले पश्चिम गेट नजिकै रहेको वडा कार्यालयको पाँच रोपनी जग्गा र भवन लिएको र अहिलेको स्थानमा वडा कार्यालय बनाउन कोषले चार आना जग्गा दिएको बताउनुभयो । उहाँले जग्गाका बारेमा देखिएको विवादलाई कोषले नै समाधान खोज्नुपर्ने बताए । 
कोषले आपसी सहमतिमा जग्गाका विषयमा देखिएको समस्या समाधान गर्ने बताएको छ ।
 

पशुपति वेद विद्याश्रम

विशेष