खेल

त्रिकोणात्मक सिरिजः आयरल्याण्डविरुद्ध बंगलादेशको शानदार जीत

त्रिकोणात्मक सिरिजः आयरल्याण्डविरुद्ध बंगलादेशको शानदार जीत

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत बंगलादेशले आयोजक राष्ट्र आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा आयरल्याण्डले दिएको २९३ रनको लक्ष्य बंगलादेशले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशको जीतमा लिटोन दासले ७६, तमिम इग्बालले ५७, शाकिव अल हसनले ५०, मुस्फिकुर रहिम र मोहम्दुल्लाहले ३५–३५ रनको योगदान दिए । बलिङमा आयरल्याण्डका ब्वोइड र्यान्किनले २, मार्क अदिर र ब्यारी म्याकरोथीले एकएक विकेट लिए ।

 

यसअघि,  टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनायो । उसका लागि पउल स्ट्रर्लिङले १३० रन प्रहार गरे । ४ छक्का र ८ चौकाको मद्दतमा १४१ बलमा १३० रन प्रहार गरेका हुन् । यस्तै, कप्तान विलियम प्रोटरफिल्डले ७ चौका र २ छक्काको सहयोगमा १०६ बलमा ९४ रनको योगदान दिए । अन्यको प्रदर्शन सन्तोषजनक रहन सकेन ।

 

बलिङमा बंगलादेशका अबु जायदले ९ ओभरमा ५८ रन दिँदै ५ विकेट लिए । यस्तै, मोहम्मद सैफउद्दिनले २ र रुबेल हुसेनको नाममा १ विकेट रह्यो । आयरल्याण्ड र बंगलादेशसँगै सिरिजमा वेस्ट इन्डिज पनि भिडिरहेको छ । बंगलादेश वेस्ट इन्डिजलाई हराएर फाइनल पुगिसकेको छ । यता आयरल्याण्ड भने एक खेल पनि नजित्दै सिरिजबाट बाहिरिएको छ । 

आयरल्याण्ड भर्सेस बंगलादेश त्रिकोणात्मक सिरिज

विशेष