स्वास्थ्य

यस्ता छन् ध्यान गर्दाका ४ फाइदा

यस्ता छन् ध्यान गर्दाका ४ फाइदा

काठमाडौं । ओशोका अनुयायीले किन ध्यान गर्छन्, यसमा धेरैको जिज्ञासा होला । वास्तवमा ध्यान विचारसिद्धिको अवस्था हो । ध्यान कुनै वस्तुप्रतिको एकाग्रता भने होइन । यो आफैँमा विश्राम पाउने एउटा प्रक्रिया हो । ओशो दर्शनअनुसार यस (ध्यान) लाई सक्रिय ध्यान पनि भनिन्छ । यसभित्र योग, प्राणायाम (श्वासप्रश्वासको अभ्यास) आदि पर्छन् । अब जानौँ ध्यान गर्दाका फाइदा–   

 

मनमा शान्ति
ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै, आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ । 

 

तनाव व्यवस्थापन
भौतिक जीवनबाट हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ । यसका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ । ध्यान गर्दा आफ्नो मस्तिष्कलाई आफैँले एकाग्र गरिने हुनाले व्याकुलता, ईष्र्या तथा निराशा हटेर जान्छ । 

 

सकारात्मक सोच
ध्यान गर्दा मानिसमा नकारात्मकता हटेर जान्छ, सकारात्मक सोच पलाउँछ । सकारात्मक सोचले मानिसको व्यक्तित्वमा नै परिवर्तन ल्याउँछ । मनबाट नकारात्मक सोच हट्नेबित्तिकै मानिसमा सिर्जनशीलता स्वतः बढ्छ । जसले गर्दा मानिसको व्यवहारमा नम्रता आउने भएकाले उसले समाजमा राम्रो सम्बन्ध कायम राख्न सक्छ ।

 

शारीरिक तन्दुरुस्ती
शरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ । जसबाट प्रत्येक कोषिकामा ऊर्जा उत्पन्न हुने गर्छ । नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमताको विकासका साथै घाउ, अनिद्रा, जोर्र्नी र टाउको दुखाइबाट राहत पाउन सकिन्छ । भावनालाई बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ । जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

ध्यान

विशेष