मुख्य समाचार

कञ्चनजंगा आरोहणका क्रममा २ भारतीय पर्वतारोहीको मृत्यु 

कञ्चनजंगा आरोहणका क्रममा २ भारतीय पर्वतारोहीको मृत्यु 

काठमाडौं । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा आरोहण गर्न गएका दुई पर्वतारोहीको ज्यान गएको छ । यस्तै, एक जना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता सुरेन्द्र थापाका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन्। आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन्।

 

नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ । शिखरमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको पौडेलले बीबीसी नेपालीलाई बताए । करारको आरोहणकै क्रममा मृत्यु भएको हो। शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको उनले बताए।

 

पौडेलका अनुसार बुधवार राति आठ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि चिलेका पर्वतारोही भने सम्पर्कविहीन भएका छन्। पर्यटन विभागका प्रवक्ता थापा तथा पीक प्रमोशनका अध्यक्ष पौडेलका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव तल ल्याउने प्रयास भइरहेको छ । उनका अनुसार उद्धारकर्ताहरू करारको शव भएको ठाउँमा बिहीवार बिहानसम्म पुगेका थिएनन्। दुइटै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट शुक्रवारसम्म काठमाण्डौं ल्याउने आफ्नो कम्पनीको योजना भएको पौडेलले बताए।

पर्वतारोही कञ्चनजंगा आरोहण

विशेष