मनोरञ्जन

फ्राइडे रिलिज : वीरविक्रम-२ र जात्रैजात्राको भिडन्त

फ्राइडे रिलिज : वीरविक्रम-२ र जात्रैजात्राको भिडन्त

काठमाडौं : चलचित्र वीरविक्रम-२ शुक्रबारदेखि प्रदर्शन हुँदै छ। यो करिब तीन वर्षअघि रिलिज भएको चलचित्र वीरविक्रमको सिरिज हो।

मिलम चाम्सले निर्देशन गरेको वीरविक्रममा पारिवारिक प्रेमकथा समेटिएको निर्माण पक्षले बताएको छ। प्रदीप भारद्वाजले निर्माण गरेको यो चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्ध तामाङ, देशभक्त खनाल, विनाशा भण्डारी, विनोद सुवेदी खत्री, सुयांस खड्का, मनिष लिम्बूलगायत कलाकारको अभिनय देख्न सकिने छ।

अर्पण सापकोटा कार्यकारी निर्माता रहेको यो चलचित्रकी सहनिर्माता रञ्जिता सिवाकोटी हुन्। चलचित्रलाई सुदीप बरालले मुस्ताङ तथा युरोप अजरबैजानमा छायांकन गरेका छन्। यो फिल्म करिब १ करोड ५० लाख रूपैयाँमा निर्माण गरिएको बताइएको छ।

त्यस्तै, शुक्रबार नै अर्को चलचित्र जात्रैजात्रा रिलिज हुँदै छ। यो चलचित्र पनि तीन वर्षअघि नै रिलिज भएको जात्राको सिक्वयल हो। प्रदीप भट्टराईको कथा तथा निर्देशनमा बनेको चलिचत्र पूर्णरूपमा व्यावसायिक भएको निर्माण पक्षको दाबी छ। फिल्ममा भरपूर कमेडी र सस्पेन्स रहेको बताइन्छ।

यो फिल्म जात्राको सिक्वल भएकाले जात्राको कथा जहाँबाट टुंगियो यो फिल्म पनि त्यहीँबाट सुरु हुने निर्देशक भट्टराई बताउँछन्। फिल्मा विपिन कार्की, दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरेलगायतको अभिनय देख्न सकिने छ।

रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो चलचित्रका निर्माता सिंगे लामा हुन्। यो चलचित्रलाई काठमाडौं तथा पोखराका विभिन्न ठाउँमा छायांकन गरिएको निर्देशक भट्टराई बताउँछन्। यो चलचित्रको लगानी करिब एक करोड ८० लाख रहेको जात्रैजात्रा निर्माण पक्षले जनाएको छ।

जात्रैजात्रा वीरविक्रम-२

विशेष