देश

जापानका नयाँ राजालाई राष्ट्रपति भण्डारीको बधाई सन्देश

जापानका नयाँ राजालाई राष्ट्रपति भण्डारीको बधाई सन्देश

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका नयाँ सम्राट नारुहितोलाई गद्दी आरोहण गरेकोमा बधाई सन्देश पठाएकी छन्।

 

राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आजै पठाएको बधाई सन्देशमा जापानी सम्राटलाई सुख, सुस्वास्थ्यका साथै रिवा युगमा जापानी जनताको निरन्तर शान्ति प्रगति र समृद्धिको कामना पनि गरेकी छन्।

 

जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राज गद्दी सम्हालेका छन्। उनी जापानी राजतन्त्रको इतिहासमा राज गद्दी सम्हाल्ने १२६ औं राजा हुन्। राज गद्दीमा आसिन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैं साथ रहने वचनबद्धता प्रकट गरे। उनका बुबा सम्राट अकिहितोले मंगलबार राज गद्दी त्यागेका थिए।

 

जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राज गद्दी त्याग गरेको यो पहिलो पटक हो।

विशेष