कभर स्टोरी

     पूँजीगत खर्च नभएकोमा सांसदको चिन्ता

     पूँजीगत खर्च नभएकोमा सांसदको चिन्ता

नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले नयाँ बजेटको तयारी भइरहँदा पूँजीगत खर्च निराशाजनक रहेको टिप्पणी गर्नुभएको छ । 

सोमबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा उहाँले मुलुकको व्यापार घाटा चुलिएको, आयात प्रतिस्थापन गर्न नसकिएको बताउनुभयो । 

वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले कृषिको परनिर्भरता चुलिँदै गएको, लगानीमैत्री कानून बनाउन नसकिएको उल्लेख गर्नुभयो । 

बैठकमा सांसद खिमलाल भट्टराईले  मायादेवी गाउँपालिका र आसपासका गाउँमा देखिएको गरीबी कम गर्नका लागि  कृषि परियोजना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद रामनारायण बिंडारीले मकवानपुरमा बसोबास गर्ने र जमिन जोती खाने जनताको  हातमा लालपूर्जा नरहेको र  यातायात क्षेत्र अस्तव्यस्त रहेको बताउनुभयो । 

 विशेष समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका गराए । बैठकले “प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सोसम्बन्धी प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रस्तुत गर्नुभएको थियो । 

यसैगरी सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘गुठी विधेयक, २०७५’ पेश गर्नुभयो । 


राष्ट्रियसभाको अर्को बैठक यही जेठ ८ गते अपराह्न १ बजे बस्नेछ । 

राधेश्याम अधिकारी पूँजीगत खर्च

विशेष