स्वास्थ्य

अन्तर्वार्ता कसरी फेस गर्ने? यस्ता छन् करिअर टिप्स 

अन्तर्वार्ता कसरी फेस गर्ने? यस्ता छन् करिअर टिप्स 

काठमाडौं । यदि तपाईं कुनै जागिरको खोजीमा हुनुहुन्छ र त्यसक्रममा अन्तर्वार्ता दिनुपर्ने छ भने पक्कै पनि नर्भस हुनु हुनेछ । सबै नै नर्भस हुन्छ । तर, अर्को तरिकाले सोच्ने हो भने यो अवसर पनि हो, जहाँ आफ्ना कुरा आकर्षक ढंगले दृढताका साथ प्रस्तुत गर्ने थलो पनि हो । तपाईंले अन्तर्वार्ता दिन जाने ठाउँका बारेमा केही अनुसन्धान गर्नुभयो र त्यसमा सोधिने प्रश्नहरूको केही अनुमान लगाउन सक्नुभयो भने अत्मविश्वास बढ्नेछ । जब आत्मविश्वास बढ्छ । निश्चय नै अन्तर्वार्ता आफूले सोचेभन्दा आकर्षक हुनेछ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

 

कम्पनीबारे अनुसन्धान गर्ने
आफूले कुन कम्पनीमा अन्तर्वार्ता दिन जान लागेको हो । त्यसबारे राम्रो जानकारी हुनु आवश्यक छ । त्यो कम्पनी कुन क्षेत्रको हो ? कस्तो काम गर्छ रु अहिले त्यो कम्पनीको अवस्था कस्तो छ ? र, त्यो कम्पनीको लक्ष्य के हो भन्नेबारे बुझ्नुपर्छ । अन्तर्वार्ताकारले कस्तो मान्छे खोजिरहेको छ भन्ने जानिराख्नु पनि राम्रो हुनेछ । तपाईंले यसकारणले कम्पनीसँग काम गर्न चाहेको र त्यस कार्यमा आफूले यसरी योगदान गर्न सक्ने विश्वास दिलाउन सक्नुभएमा निश्चय नै अन्तर्वार्ताकार तपाईंबाट प्रभावित हुनेछ । 

 

अन्तर्वार्ताकारबारे जानकारी लिने 
आफ्नो अगाडि बसेको अन्तर्वार्ताकार कुन पृष्ठभूमिको हो भन्नेबारे हेक्का हुनु जरुरी छ । उसको जस्तो पृष्ठभूमि छ, त्यसै प्रश्न उसले सोध्न सक्छ । त्यसैले आफ्नो अन्तर्वार्ताकारका बारेमा पर्याप्त जानकारी बटुल्ने प्रयास गर्नु छ । उसले पहिले काम गरेको कम्पनी, उसले काम गरेको क्षेत्र आदिबारे जानकारी हुनुपर्छ । कहिलेकाहीँ त पहिले कुनै कम्पनीमा आफूसँगै काम गरेको सहकर्मी पनि हुन सक्छ । यस्तो अवस्थामा त झन् सजिलो भइहाल्यो । तर, धेरै व्यक्तिगत हुनु पनि राम्रो हुँदैन । उसको फेसबुक वा ट्विटरका कुरालाई अन्तर्वार्ताका क्रममा कुराकानी नगर्नु नै बेस हुनेछ । 

 

केही साझा प्रश्नबारे उत्कृष्ट उत्तर दिने प्रयास गर्ने 
अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले केही विशेष प्रश्न गरे पनि अन्य सामान्य नै हुन्छ । जुन सबैलाई सोधिन्छ । यस्ता प्रश्नहरूको सूची बनाउने र उत्कृष्ट जवाफ दिने प्रयास गर्नुपर्छ । अन्तर्वार्ताकारले सोध्न सक्छ, ‘तपाईको सबल पक्ष के हो ?’ यसको उत्तर कसरी दिने रु बस तपाईंले सोच्नुपर्छ कि म त्यो पदमा योग्य छु र यसकारणले योग्य छु भन्नेमा बढी केन्द्रित भएर उत्तर दिनु बेस हुनेछ । तपाईंको कमजोरी के हो ? भनेर सोधिन सक्छ । यस्तो वेला म धेरै काम गर्न रुचाउँछु कहिल्यै नभन्नुहोला । अन्तर्वार्ताकारले पत्याउँदैन । 

 

अन्तर्वार्ताकारलाई दुई प्रश्न सोध्न हिम्मत राख्ने 
अन्तर्वार्ताकारले एकहोरो प्रश्न सोधेर तपाईंलाई नर्भस बनाउन खोजिरहेको हुन्छ । तपाईंको ध्यान उत्तर दिनेमा मात्र हुन सक्छ । तर, तपाईंले यो पनि बुझ्नु जरुरी छ कि उसले सोधेको प्रश्नको जवाफ दिने क्रममा उसैलाई प्रश्न गर्ने खालको जिज्ञासा पनि हुन सक्छ । यस्तो प्रश्नलाई तरिका पुर्‍याएर ठाडो तरिकाले होइन, नम्र भाषामा उल्टै जिज्ञासा राखेर अन्तर्वार्ताकारबाट पनि केही उत्तर खोज्ने प्रयास गर्नुपर्छ । जस्तो कि कम्पनीमा कार्म गर्न उत्प्रेरित गर्ने विषय के हुन् ? कमजोर श्रमिकलाई कसरी कम्पनीले प्रेरित गर्छ, आदि । 

 

अन्तर्वार्तामा जानुअघि साथीसँग अभ्यास गर्ने 
अभ्यास एकदमै उत्तम माध्यम हो । आफू कुनै पनि अन्तर्वार्तामा जानुअघि साथीभाइसँग अन्तर्वार्ताको अभ्यास गर्नु उपयुक्त हुन्छ । साथीलाई प्रश्न दिने होइन, उसले जस्तो सोध्छ, त्यसको ठीक ढंगले उत्तर दिने अभ्यास गर्ने । 

 

अन्तर्वार्तामा आफूलाई चाहिने सबै कागजात बोक्ने 
अन्तर्वार्ता दिनेक्रममा अन्तर्वार्ताकारले तपाईसँग केही सक्कली कागजात माग गर्न सक्छ । त्यसैले त्यस जागिरका लागि चाहिने सबै कागजात बोकेर अन्तर्वार्तामा जानुपर्छ । ती कागजात नबोक्नु मूर्खता हुनेछ । 

अन्तर्वार्ता जागिर करिअर टिप्स 

विशेष