खेल

आइपीएलः दिल्लीविरुद्ध धोनीको चेन्नई ८० रनले विजयी

आइपीएलः दिल्लीविरुद्ध धोनीको चेन्नई ८० रनले विजयी

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ५०औं खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सलाई ८० रनले हराउँदै चेन्नई विजयी भएको हो । चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले १६.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि कप्तान श्रेयस अय्यरले ४४ र शिखर धवनले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकसमेत बटुल्न सकेनन् । बलिङमा चेन्नईका इमरान ताहिरले ३.२ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिए । यस्तै, रविन्द्र जडेजाले ३ ओभरमा ९ रन दिँदै ३, दीपक चहर र हरभजन सिंहले एक–एक विकेट हात पारे । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनायो ।

 

उसका लागि कप्तान महेन्द्रसिंह धोनीले नटआउट २२ बलमा ४४ रन प्रहार गरे । यस्तै, सुरेश रैनाले ५९, फाफ डुप्लेसीसले ३९, रविन्द्र जडेजाले २५ र अम्बाती रायडूले नटआउट ५ रनको योगदान दिए । यो जीतसँगै चेन्नई १८ अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ । दिल्ली १६ अंकका साथ तालिकाको दोस्रो नम्बरमा छ । 
 

इन्डियन प्रिमियर लिग चेन्नई भर्सेस दिल्ली आइपीएल

विशेष