दीपक मनाङे बने फिल्म निर्माता, चलचित्रको नाम ‘पोइ पर्यो काले’
काठमाडौं । ‘मान्छेको अनुहारको रङमा नजाऊँ। उसको मन हेर। असल बानी व्यहोरा हेर।’ निर्देशक शिशिर राणाले बाहिरी आवरण हेरेर मान्छेको मूल्यांकन गर्न नहुने भन्दै फिल्म बनाउने भएका छन् । र, उनको नयाँ फिल्मको नाम हुनेछ ‘पोइ पर्यो काले ।’ सोमबार शुभमुहूर्त गर्दै उनले फिल्मको जानकारी गराए । ‘ए दिदी पोइ पर्यो काले, हुन्देऊ बैनी इज्जतै नफाल’ बोलको पुरानो गीतबाट नै फिल्मको नाम राखिएको हो । शुभमुहूर्तमा यही गीत बजाउँदै फिल्मका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा अभिनय गर्न आएका थिए।
फिल्ममा सोहित मानन्धर र सुरक्षा पन्तको पनि भूमिका रहने बताइएको छ । फिल्ममा राजाराम पौडेलको पनि प्रमुख भूमिका रहनेछ । पोखरा र मुस्ताङमा छायांकन हुने यो फिल्म लक्ष्मी पूजाको दिन रिलिज गरिने बताइएको छ। फिल्मको लेखन तथा निर्देशन शिशिर राणाले गर्दैछन् भने फिल्मको निर्माता राजीव गुरुङ (दीपक मनाङे) र देवी राई हुन्। रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा बन्न लागेको श्यामबहादुर थापाको पोइ पर्यो कालेमा कार्यकारी निर्माता किरण नेपाली र रघु परियार छन् भने सहनिर्मातामा अर्जुन खनियाँ र रेव तामाङ रहेका छन् । यो खबर अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।
दीपक मनाङे राजीव गुरुङ