पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

खोलामा पौडी खेल्ने क्रममा डुबेर धनकुटामा दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–२ का १२ बर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ बर्षीय अमिर मगर छन् ।
महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा नदीमा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा गौरब दहमा डुबे । त्यसपछि उनलाई उद्धार गर्न खोज्दा अमिर पनि डुबेर बेपत्ता भए ।
घटनापछि दहबाट गौरबलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । यता दहमा डुबेर बेपत्ता भएका अमिरको शव मंगलबार बिहान खोलामा फेला परेको प्रहरी प्रमुख गुरुङले बताए ।
सोमबार साँझ घटनाको जानकारीपछि मारेककटहरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । पोष्टमार्टमका लागि मृतक दुवैको शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।