विचार

नर्कशास्त्रमा अनुवाद अर्थशास्त्र

नर्कशास्त्रमा अनुवाद अर्थशास्त्र

‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । नेपाली कांग्रेसमा मैले सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । २००७ सालको क्रान्ति हामीले हिन्दूस्थानबाट सञ्चालन गर्यौं तर हामीलाई हिन्दूस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैंभरि र सबभन्दा बढी विरोध गरेको छु । राजासंग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरुको बारेमा व्यापक भ्रम सृजना हुने सम्भावना मैले देखेको छु । जुन दिन कांग्रेस प्रजातन्त्रका आदर्शहरु छाडेर  केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’


 कांग्रेसजनहरु राष्ट्रिय जागरणको नाममा बीपीको फोटोमा माल्यार्पण गर्न व्यस्त छन् । बीपीको फोटोमा जति झुक्न सक्यो उति, २४ क्यारेटको काँग्रेस भइन्छ भन्ने मनोवैज्ञानिक भ्रम छ । गाउँमा खट्नेभन्दा नेतासंग सेटिङमा बस्ने काँग्रेसका दिन जाग्ने गरेका जगजाहेर छ । कुनै काँग्रेस संगठन गरेर गाउँ बस्यो भने नेताको चश्माले ठह¥याउँछ– ‘उसले पार्टी छोडिसक्यो ।’ नेताको हाजिरा नबजाउने कसरी काँग्रेस हुनसक्छ ? नेतालाई भलीभाँती गाली गरेर ठूलो नेता बन्न पाइने विश्वकै अचम्मको पार्टी काँग्रेस हो । गाली गर्नु पुस्तौनी संस्कार हो । शेरबहादुर पनि कुनै बेला आफ्ना अग्रजविरुद्ध मन, वचना, कर्मणा लागेकै हुन् । त्यसैले त भनिन्छ– कम्युनिष्ट बनाउन रोप्नुपर्छ, काँग्रेस आफैं उम्रन्छ । गाली त काँग्रेसमा  दिन कटाउने र मानो पचाउने रमाइलो मेसो बन्दै आएको छ । कम्युनिष्टमा यो भाइरस रमाइलो पाराले सरिरहेको छ । 


राजनीतिको खोल ओढेका बुख्याचाहरुले बीपी विचार पैतालामा कुल्चिएर उनको फोटो मास्टर कार्ड बनाएका छन् । बीपीको सपना साकार हुँदो हो त यतिबेला यो देशबाट दैनिक १५ सय युवा खाडी भासिने थिएनन् । तिनैले हाड घोटेर पठाएको पैसा चन्दन मानेर रेमिट्यान्सको पूmर्ती लगाउनेहरुले देशको अर्थशास्त्रलाई नर्कशास्त्रमा पु¥याएका छन् । दिनको डेढ अरब आम्दानीको लेखो लाएर बसेका तिनीहरुलाई सरकारको बजेटकै हाराहारीमा भारतसंगको व्यापार घाटाले अलिकति पनि पोल्दैन् । यताबाट एउटा सामान पठाउँदा उताबाट आठगुना सामान ल्याउनुपरेको उल्टो अर्थशास्त्र कसैलाई विझ्दैन् । त्यही कोदोको ढिंडो र खोलेफाँडोबाट छलिन शहर पसेका कथित भूजा ज्यूनारमा अनुवाद भएकाहरुलाई थाहा हुनुपर्ने हो– अब कोदो, फापर र मस्याङजस्ता कुअन्न मात्र हैन, रेडिमेड छ्याङदेखि जनैसम्मको आपूर्ति छिमेकीबाट हुन थालेको छ । थाहा छैन– यो अवस्थामा आर्थिक समृद्धिको यात्रा कति रहर, कति कहर बन्ने हो ?


सन्कीमा चलेका खाडी देशले कुनै दिन विदेशी कामदार नचाहिने उर्दी गरेका दिन त्यो चुनौती कसरी स्वीकार्ने त्यो सोच कसैमा छैन् । खाडीबाट देश भित्रिने पैसाको हिसाव राख्न तँछाड मछाड गर्नेहरु काठको बाकसमा आउने दर्जनौं होनहार युवाहरुको मृत्युप्रति बेखबर छन् । दौरा सुरुवालमा ठटिएर हिँड्ने देशका ठूलाहरुले कमाएको पैसा फ्रान्सको वाइन, इँटालीको जुत्ता, पाकिस्तानी ज्याकेट, अमेरिकी आइफोन, सिंगापुरको सपिंग अनि सन्तानलाई अमेरिकी र युरोपेली नागरिक बनाउन खर्च हुने, अनि परिवारलाई तातो जाउलो ख्वाउन घर बन्धकी राखेर गएको एउटा मजदूरले हाइड्रोपावरमा लगानी गरिदिए मुखियाहरु उज्यालोमा बस्ने रे । जुँगा ताउ लगाएर कमाएकाहरुको पैसा चाहिं खोटो मोहोर किन ? बीपी, मदन भण्डारीदेखि माक्र्स, लेनिन र माओको मुखुण्डो लाएका दलालहरुले कुनै दिन राजनीतिक नेतृत्वलाई विदेशबाट आएको रेमिट्यान्सबाट २० प्रतिशत कम्युनिष्ट, १० प्रतिशत काँग्रेस र  ५ प्रतिशत साना दललाई बुझाउनुपर्ने नियम लगाइदिए भने कसैले आश्चर्य नमाने हुन्छ । 


पद किनबेचको अभ्यासले मानिसलाई सोचको त्यही गन्तव्यमा पु¥याउँछ ।  बीपीको समाजवादले जनता धरौटी राखेर नेताको विदेशमा उपचार गर्ने किमार्थ सोचेको थिएन । बरु शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा जनताको अधिकार स्थापित गर्ने परिकल्पना गरेको थियो । बीपी प्रतिपादित समाजवादी चिन्तनको अक्षरशः व्याख्या गर्ने इमान्दार प्रयास भए, ६ दशकअघि उनले कल्पना गरेको कृषक कृषि फर्मको मालिक हुन्थ्यो । आईफोनबाट बजार खोज्थ्यो । अनलाईनबाट हिसाव किताव हेथ्र्यो । 


 कारखानाको मेसिन बिग्रियो भने गोजीमा रहेको ‘रेडबुक’ ढोगेमा आपैंm मेसिन दुरुस्त हुन्छ भन्ने माओत्सेतुङ कालिन भूत प्रचण्ड अवतारमा ब्यूँझाउने अनगिन्ती प्रयास माओवादीबाट नेपालमा भएकै हो । तर विश्वमा आएको मानवीय चेतनाको लहरले माओवादीका ती सबै रहर पानीमा किलो गाडेजस्तै बनाइदियो । मोटाउनु र सुन्निनु एउटै होइन रहेछ भन्ने दीक्षा कार्यकर्तारुपी गोमन साँपले गालामा ठुँग्दा प्रचण्डको चेत खुलेको हुनुपर्छ । 


माघको ठिहीमा पनि कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाउने शास्त्रीय राजनीति कम्युनिष्ट हाटमा विक्न छोडेको छ । राजनीतिमा तीनखाले चरित्र हावी छ । पहिलो यति जड छ, जो पृथ्वीमा प्रलय आएपनि परिवर्तन हुन चाहँदैन । आफूलाई वेद, कुरान, बाइबल ठान्छ । अर्को छ चिरिच्याँट्ट देखिनु र फेसबुकमा आफ्ना सम्पूर्ण लीला बिस्कुन बनाएर सृष्टि चलाएको भ्रम छर्नु । अर्को छ– इमान्दार छ, सकेको काम पनि गर्छ तर अबोला छ । यी तीनको भेट किमार्थ हुँदैन् । बरु फेसबुकेले परिवर्तन नहुने नेता प्रवृत्तिलाई काँधैमा बोकेका छन् । यही व्याकरण नबुझ्दा देश विकासको नारा अन्धाले छामेको हात्तीजस्तै बन्यो । अनुत्पादक मोबाइल बोक्नेको महामारीले देशको सामाजिक अर्थशास्त्र ध्वस्त भयो । छिमेकी देशबाट मरिकुच्चे भारी बोकेर आउने ट्रक फर्किदा फिरफिरेजस्तै बत्तिएर गन्तव्य पुग्ने दृश्य कसैका लागि नौलो होइन । तर भात खाएको र चिया पिएको खबर सोध्न रिचार्ज कार्डमार्पmत अरबौं सिध्याउने संस्कृतिले देशलाई कता लैजान्छ भनेर कसैले सोचेको छैन । हजुरबाको पालादेखिको हलो उही छ । गोरु त छ तर मोबाइल रिचार्ज गर्न गोरुले खाने भुस, चोक्करमा घोटाला गर्न तम्सने गोठालाहरु बढ्दा छन् ।

गोरुले खाने चोक्करमा भ्रष्टाचार भएपछि स्वभावतः गोरु कुपोषणग्रस्त हुने नै भए । तपाईं नै अनुमान गर्नुस् त, सारंगी पेट भएका गोरुले कुन हुतिले हलो तान्नु ? अब त धान रोप्ने समयमा पनि चुनाव, उठाउने समयमा पनि चुनाव भएपछि किसानका लागि कृषिकर्म एकादेशको कथा बन्दै गयो ।  मोबाइलको सेटजस्तै हलो र गोरु पाल्ने प्रविधिमा पनि नयाँपन आइदिएको भए देशको अनुहार कस्तो हुन्थ्यो होला ? कर्ममा हैन, रहरमा नसा लगाइदिने सरकारी उत्ताउलोपनका कारण देश झन्झन् अधोगतितर्फ  लाग्दैछ । समस्या सानो कुरामा छ तर प्राविधिक र अंग्रेजी शब्द घोलेर त्यसलाई बुझिनसक्नुको महाभारत बनाइन्छ । 


संसारका हरेक राज्यले जनतालाई दिने भनेको पानी, बिजुली र सडक हो । यी तीनथोक दिएपछि कसैले जुम्लाको स्याउ कुहिएको समाचार सुन्न पर्दैन । झापाका किसानले धानको बजार नपाएको गीत गाउनु पर्दैन । धान फलाउने र स्याउ फलाउने आफैंले आफ्नो आवश्यकताको परिपञ्च मिलाउँछन् । वाईवाई चाउचाउ औषधी पसलमा पनि पाइन्छ । रक्सी, वियर र चुरोट तरकारी पसलमा पनि पाइन्छ । यी बस्तुको आपूर्तिलाई बाढी, पहिरो, खडेरी केहीले रोक्दैन । तर खाद्य संस्थानले लैजाने अन्न, आयल निगमको तेल, साल्ट ट्रेडिङको नून र कृषि सामग्री कम्पनीको मललाई औंसी, पूर्णिमादेखि हाकिमकी छोरीको विहेले पनि छेक्छ । नातिको पास्नीले पनि विक्रीमा प्रभाव पार्छ । चाउचाउ र चुरोटको व्यापारिक सोच व्यापारै गरी खाने सरकारका निकायमा चाहिँ किन लागू हुन सक्दैन ? हो यी सवैको  उत्तर हो– भिजन नभएका नेता र नियत ठीक नभएका कर्मचारीको मिलेमतो । 


सत्ता र शक्ति के हो भन्ने विषयमा एउटा महाभारतको प्रसंग । पाण्डुहरु बनबास गएपछि केही समयका लागि हस्तिनापुरको राज्य चलाउने अवसर धृतराष्ट्रले पाएका थिए । हजार हात्ती बराबरको शक्ति पाएपनि उनी अन्धा थिए । राजा हुनअघिसम्म यो पदलाई उनले पाण्डुहरुको नासोका रुपमा लिएका थिए । तर जब राजाको श्रीपेच पहिरिए, उनलाई आफूभित्र अर्कै अनौठो र दम्भी भावना जागृत भयो । श्रीपेच लगाएका महाराज गान्धारीतिर फर्केर अत्यन्तै सुहाएको बेलिविस्तार लगाउँथे रे ! अन्धा धृतराष्ट्रले श्रीपेच सुहाएको गर्व गर्नुको पछाडिको रहस्य एउटै हो– सत्ताको सुख । 
निसन्देह राजनीतिको अन्तिम गन्तव्य भनेकै सत्ता हो । पदले मान्छेलाई महान पनि बनाउँछ र नजान्दा कहिल्यै निस्कन नसक्ने खाल्डोमा जाक्छ पनि । श्रीपेचले अन्धा धृतराष्ट्रको कलेजो शान्त त बनायो होला तर शक्तिलाई सनक ठान्दा एउटा वंशकै पतन हुनपुग्यो ।


 संसारमा सर्वमान्य सिद्धान्त जन्माउने त्यस्तो सत्पात्र आजसम्म जन्मिएको छैन् । न त देवता खोज्न जाने कुनै भक्तले देउता भेटेर ल्याएको कुनै उदाहरण छ । बरु देउताको अस्तित्व खोज्न जानेहरु आफैं  देउतासरह पूज्य बनेका उदाहरण छन् ।  मृत्यु र दुखको कारण खोज्न निस्किएका राजकुमार सिद्धार्थ गौतम बनेर फर्किए । एउटा सामान्य कार्पेन्टरको सन्तानलाई यस्तै जिज्ञासाले क्राईष्ट बनायो । संसारको हरेक शास्त्रको एउटै सूत्र हो– बहुजन हिताय, बहुजन सुखाय । मानिसलाई धर्म र बादका नाममा विभक्त त मानिसले गरेको हो । जाडोमा हरेक बाद र धर्मका मानिसलाई न्यानो लुगा र तातो घाम प्यारो हुन्छ । हो, घामको ताप र लुगाको न्यानो चाहीँ धर्म हो । हामीले कोरेको त सम्प्रदायको लक्ष्मणरेखा हो । यस्तो रेखाले सियोको जस्तो जोड्ने नभएर कैंचीले जस्तो टुक्र्याउने  काम गर्छ । 


गन्तव्यमा पुग्न एम्बुलेन्स भन्दा शब बाहनलाई हतारो हुने देश कुन हो ? कथं कदाचित सामान्य ज्ञानमा यो प्रश्न सोधियो भने दायाँ बायाँ नहेरी भने हुन्छ– नेपाल । बिग्रिने र बिग्रन बाँकी केही नरहेको अवस्थालाई मूल्यांकन गर्न नसक्दाको परिणाम हो यो । राजनीतिक बजारमा चलेको ‘नयाँ नेपाल’ को कथित थेगोले मानिसको जीवनशैलीलाई समेत अराजक बनाइदिएको छ । त्यसै त राजधानीको उकुसमुकुस त्यसमाथि एक अर्काको मानमर्दन गर्दा ठूलो मान्छे होइन्छ भन्ने मानसिकताले सवै तह र तप्काका समुदायमा बास गरेको छ । क्रान्ति भनेको ध्वंश नभई विचारको ताजगी मात्रै हो भन्ने तथ्यलाई कसैले हेक्का राख्न सकेका छैनन् । स्थापित मान्यता पनि भत्काउने नयाँ पनि रोप्न नसक्ने क्रान्ति त पाखण्डको प्रदर्शन मात्र हो । 


 

विशेष