समाज

राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच पानीले पखाल्यो

राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच पानीले पखाल्यो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौँदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको हो ।

सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ । गणेश मन्दिर चोकनजिक खाल्डा पुरेर गरिएको पिच मुसलधारे पानीले पूरै बगाएको छ । 

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औँ जन्मजयन्तीका अवसरमा उनको पूर्णकदको सालिक अनावरण र स्रष्टापार्क उद्घाटनका लागि बिहीबार राष्ट्रपति भण्डारी ओखलढुंगा आउने कार्यक्रम छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले राष्ट्रपतिको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सडक निर्माणको कामबाहेक स्वागतद्वार र सिँढी निर्माणमा नगरपालिकाले १० लाख खर्च गरेको छ ।

यो रकमले नगरपालिकाले मञ्च र स्वागतद्वार निर्माण तथा ८० पाहुनालाई खानबस्नको व्यवस्था गरेको छ । राष्ट्रपति सेनाको ब्यारेकमा जाने कार्यक्रम भएकोले सिँढी पनि नगरपालिकाकै खर्चमा बनेको छ । ‘नगरपालिकाले तीन लाख खर्च गरेर सिमेन्ट, बालुवा–गिटी र ढुंगालगायत निर्माण सामग्री व्यवस्था गरिदिएको हो, जनशक्ति भने सेनाकै प्रयोग भएको छ,’ सूचना अधिकारी राईले भने । राईका अनुसार नगरपालिकाले सकेसम्म आफ्नै बजेट र जनशक्ति प्रयोग गरेर विकासका काम गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

विद्यादेवी भण्डारी

विशेष