स्वास्थ्य

सरकारी अस्पतालमै छैनन् फार्मेसी, भएकामा पनि पाइँदैन औषधि

सरकारी अस्पतालमै छैनन् फार्मेसी, भएकामा पनि पाइँदैन औषधि

काठमाडौं : अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा   अस्पतालले अनिवार्य रूपमा फार्मेसी सञ्चालनमा ल्याउनु्पर्ने व्यवस्था भए पनि अस्पतालले सो व्यवस्था उल्लंघन गर्दै आएका छन् । सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालनमा नल्याउँदा बिरामी निजी अस्पतालबाट चर्को मूल्य तिरेर  औषधि किन्न बाध्य छन् ।

सरकारी अस्पतालका फार्मेसीमा समयमै औषधि नपाउने समस्या देखिएको छ । वीर अस्पताल, टिचिङ, गंगालाल हृदयरोग केन्द्र र निजामती अस्पतालका  फार्मेसीमा सबै प्रकारका औषधि उपलब्ध छैन ।  हाल देशभरमा  ३ हजार ८ सय ५ वटा स्वास्थ्य चौकी, १ सय ५८ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १६ केन्द्रीय अस्पताल  र ८४ जिल्ला अस्पताल  छन् ।

स्वास्थ्य सेवामा सवैको पहुँच सुनिश्चित गर्न र दक्ष जनशक्तिमार्फत अस्पतालबाटै आफ्नै फार्मेसी सञ्चालन गरी सेवा पुर्‍याउन सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ जारी गरेको छ । फार्मेसी सेवा सञ्चालन गरेका अस्पतालमा निर्देशिकाबमोजिम सुलभ रूपमा सबै प्रकारका औषधि र दक्ष जनशक्ति नभएको पाइएको छ ।

महाकाली अञ्चल अस्पताल कञ्चनपुर, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, सुनसरी जिल्ला अस्पताललगायतका अस्पतालले फार्मेसी सेवा सञ्चालन नगरेको महालेखापरीक्षकको ५६औं प्रतिवेदनमा  औँल्याइएको छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

फार्मेसी

विशेष