कन्भर्शनल डिसअर्डरबाट प्रभावित विद्यार्थी निको पार्न कक्षा कोठामा ग्रहशान्ति र चण्डी पूजा
बारा : कन्भर्शनल डिसअर्डरबाट प्रभावित भएका विद्यार्थीलाई निको पार्न भन्दै बाराको निजगढ नगरपालिका वडा नम्बर ११ लालस्थित नेरामाविमा बिहीबार ग्रहशान्ति र चण्डी पूजा गरिएको छ ।
स्थानीय धामीले ग्रहदशा बिग्रेर विद्यार्थी विरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षा कोठामा नै पुजा गरेको हो । प्रभावित मध्येका केही अभिभावकहरुले देखाउने क्रममा धामीले देवीदेवता रिसाएर छात्रछात्राको ग्रहदशा बिग्रेको र निको पार्न पूजापाठ गर्नु पर्ने बताएका थिए ।
धामीको सल्लाहामा लागेका केही अभिभावकको अनुरोधमा विद्यार्थी निको पार्न पूजा गरिएको विद्यालयका प्रधानाध्यापक हरिनारायण लाल कर्णले बताए । उनले ५ जना पुरोहति बोलाएर बिहान ७ बजेदेखि ४ बजेसम्म कक्षा कोठामा नै वेद, रुद्री र चण्डी पाठ तथा पूजा गरिएको जानकार्री दिए । पूजा चल्दै गर्दा पनि विद्यार्थी पटकपटक बेहोस बनेका थिए । पुरोहितले प्रभावित छात्रालाई जवरजस्ती पूजाको प्रसाद खान लगाएका थिए ।
विद्यालय बन्द गरेर गरिएको पूजा कार्यक्रममा बिरामी विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकको समेत सहभागिता रहेको थियो । शुरुमा कक्षा ४ मा अध्ययन गर्ने ३ जनामा देखापरेको सो समस्याबाट एक साताभित्र ८ जना छात्रा प्रभावित बनेको प्रधानाध्यापक कर्णले जानकारी दिए ।
कक्षा कोठामा कक्षा शुरु हुने बित्तिकै छात्राहरुमा रुने, चिच्याउने र उफ्रिने र एक्कासी बेहोस हुने जस्ता समस्या देखापरेको प्रअ कर्णले बताए । ‘बोलाउन आएका छन भन्दै रुदै चिच्याउन थाल्छन, प्रअ कर्णले भन्नुभयो, एउटाले शुरु गरेपछि अन्यमा पनि त्यस्तै लक्षण देखा पदैजान्छ ।’ उहाँले विद्यार्थीमा देखा परेको समस्याका कारण पूरै विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको बताए। यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।
कन्भर्शनल डिसअर्डर